महेन्द्रनगर ।कन्चनपुर जिल्लामा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन हुन लागेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।
२०६६ मा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको छ। केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताएका छन्।
विद्यार्थी संगठनहरूले पनि स्ववियु निर्वाचनको माग गर्दै आएका थिए। विद्यार्थी संगठनहरूसँग छलफल गरेपछि निर्वाचनको मिति प्रकाशित गरेको पाठकले जानकारी दिएका छन् ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले सोमबार स्ववियु निर्वाचनको निर्णय गरेको हो । तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परिणत गरेर पठनपाठन सुरु भएको थियो । यस विश्वविद्यालयमा हाल १७ हजार २ सय ३८ विद्यार्थी अध्ययनरत छन् ।