महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ स्थित बाबाथान की कमला उपाध्यायको विवाह भएको अहिले १८ वर्ष पुरा भयो । विवाह पश्चात घरबार चलाउन उपाध्याय दम्पतीले स्थानिय बाबाथान बजारमा व्यपार व्यवसाय गर्ने योजना बनाए । योजना अनुसार कमलाले ब्युटि पार्लर र उनका श्रीमान संदिप उपाध्यायले मोवाइल पसल संञ्चालनमा ल्याए ।
सिमित लगानीमा शुरु गरेको उक्त व्यवसाय ऋण कर्जा लिएर व्यवसाय बढाउने उपाध्याय दम्पतीले निर्णय गरे । सोही अनुसार व्यवसायबाट आम्दानी भएको रकम दैनिक बचत गरिरहेको स्थानिय बजारमै संञ्चलित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिने प्रक्रियामा उपाध्यायको दम्पती लाग्यो ।
आफ्नो बाबाथान स्थित आधा कट्टा र बजारभन्दा अलि अगाडी रहेको ८ कट्टा बढी जमिन धितो राखेर २०७१ सालमा उपाध्याय दम्पतीले सगरमाथा सहकारीबाट २ लाख रुपैया ऋण लिए र व्यवासाय बढाउन लगानी गरे । उपाध्याय दम्पतीले उक्त सहकारी बाट लिएको २ लाख ऋणको सावाँ व्याज सहित सम्पूर्ण रकम २०७६ साल सम्ममा चुक्ता गरे । यद्यपी उनिहरुले धितो राखेको जग्गाको लालपुर्जा भने अहिलेसम्म पाएका छैनन् ।
‘मैले १५ सय रुपैया लगानीमा यो ब्युटि पार्लर व्यवसाय शुरु गरेकी हु ।’ कमलाले भनिन् ‘ऋण लिएर व्यवसाय बढाउनु प¥यो भनेर हामीले दैनिक बचत गरिरहेको सगरमाथा सहकारीबाट २ लाख रुपैया ऋण लियौँ ।’ उनले अगाडी भनिन् ‘हामीले त्यो ऋणको सावाँ, व्याज सहित सम्पूर्ण रकम २०७६ सालमै सहकारीलाई चुक्ता गरिसकेका थियौँ । तर सहकारीले हामीलाई अहिले सम्म हाम्रो धितो राखेको लालपूर्जा दिएको छैन ।’ पटक–पटक आफ्नो लालपूर्जा माग्दापनि सहकारीका अध्यक्ष सहित संञ्चालक समितिले वेवास्था गरिरहेको उनले बताइन् । ‘हामीले सहकारीको रकम चुक्ता गरिसकेपछि पटक–पटक धितो राखेको लालपूर्जा फिर्ता गर्न आग्रह गर्दा सहकारीका अध्यक्ष लगाएत संञ्चालक समितिका सदस्यहरुले वेवास्था गरिरहेका छन् ।’ उनले भनिन् ‘उल्टा सहकारी संस्थाका संञ्चालक समितिका सदस्यले हामीलाई थर्काउने गरेका छन् ।’
ऋण चुक्ता गर्दापनि लालपूर्जा नपाउँदा समस्या भएको उनले बताइन् । ‘भएको सम्पती धितो राखेर त्यो ऋण निकालेर व्यवसाय बढाउन लगानी गरे ।’ उनले भनिन् ‘समयमै ऋण चुक्ता गर्दापनि आफ्नो लालपूर्जा नपाउँदा धेरै समस्या भएको छ ।’ उनले अगाडी भनिन् ‘त्यही जग्गा पुनः धितो राखेर छोरी पढाउन पर्ने योजना हाम्रो छ तर के गर्ने हातमा सहकारीको ऋणको चुक्ता प्रमाण छ, लालपूर्जा भने सहकारीको कब्जामा छ ।’
स्थानिय गगन सुनारले पनि आफ्नो लालपूर्जा अहिले सम्म पाएका छैनन् । सहकारीका अध्यक्ष ज्ञानेन्द्र वहेक क्षेत्रीले आफुलाई समस्या परेको भन्दै केही महिनाका लागी लालपूर्जा सहयोग गर्न आग्रह गरेपछि सहयोग गरेको लालपूर्जा अहिले सम्म फिर्ता नपाएको सुनारले बताए । ‘सहकारीका अध्यक्ष (भतिज) ले मलाई अहिले समस्या परेको छ । ३/४ महिनाका लागी तपाईको लालपूर्जा दिएर सहयोग गर्नु भनेपछि मैलेपनि निस्वार्थ ८ कट्टा जग्गाको लालपूर्जा दिए ।’ उनले भने ‘तर खै अहिले सम्म लालपूर्जा फिर्ता पाएको छैन ।’ यी त प्रतिनिधि पात्र मात्र हुन् । ऋण चुक्ता गरिसकेका उपाध्याय, जस्तै ११ जनाको लालपूर्जा सहकारीको कब्जामा छ । यस्तै झण्डै १३ सय बचतकर्ताले आफुले आफ्ना आवश्यकतालाई विट मार्दै जम्मा गरेको बचत रकम पाएका छैनन् । सुनारकाअनुसार लामो समयदेखी सहकारी बन्द छ ।
आफ्नो लालपूर्जा र बचत रकम फिर्ता गर्न फोन गर्दा संचालक समितिका सदस्यहरुको फोन नउठ्ने उनिहरुको गुनासो छ । सुनारले तत्काल सहकारीले आफ्नो लालपूर्जा र बचत फिर्ता नगरे कानुनी प्रक्रियामा जाने बताए । उक्त सहकारी संस्थाका अध्यक्ष वहेक एमालेबाट निर्वाचित वडा नम्बर ७ कै वडाध्यक्ष समेत हुन् । सो विषयमा उनिसंग कुरा गर्दा उनले जतिसक्दो छिटो समस्याको समाधान गर्ने बताए ।
‘कमला जि लगाएतका बचतकर्ताले ऋण चुक्ता गरिसक्नु भएको छ । तर हामीले उहाँहरुलाई लालपूर्जा उपलब्ध गराउन नसकेको कुरा साँचो हो ।’ अध्यक्ष वहेकले भने ‘हामी (सगरमाथा सहकारी)ले कमला जी लगाएतका बचतकर्ताको लालपूर्जा धितो राखेर नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्स्कुन) बाट १ करोड १० लाख ऋण लिएका छौँ । उहाँहरुको लालपूर्जा नेप्स्कुन संग रहेको छ ।’ उनले अगाडी भने ‘सगरमाथा सहकारीले ऋण लगानी गरेका व्यक्तिहरु कमला जी लगाएतका बचतकर्ताले सहकारीलाई ऋण चुक्ता गरिसक्नु भयो तर हामी (सहकारी)ले नेप्स्कुनबाट लिएको ऋण चुक्ता गर्न बाकीँ छ । त्यसैले यो समस्या आएकोे हो ।’
सहकारीले नेप्स्कुनबाट लिएको ऋण तिर्न नसक्दा लालपूर्जा फिर्ता गर्न नसकिएको अध्यक्ष वहेकले बताए । ‘ऋण चुक्ता गरिसकेपछि हामीले उहाँहरुको धितो सम्पती फिर्ता गर्नुपर्ने हो ।’ उनले भने ‘तर हामीले उहाँहरुको लालपूर्जा धितो राखेर नेप्स्कुनबाट लिएको ऋण चुक्ता गर्न नसक्दा लालपूर्जा दिन सकेका छैनौँ ।’ उनले अगाडी भने ‘लामो समय बन्द अवस्थामा रहेको सहकारी साउन १ गतेबाट कार्यालय खुल्ला गरेका छौँ । अब जति सक्दो चाँडो नेप्स्कुनको ऋण चुक्ता गरेर यो समस्या समाधान गर्छौ ।’
उनकानुसार सहकारीले नेप्स्कुनलाई झण्डै ६२ लाख सावाँ र ४२ लाख बढी व्याज रकम तिर्न बाँकी छ । सहकारीका पदाधिकारीहरुको बदमासीले स्थानिय बचतकर्ता मारमा परेका छन् । राम्रो व्यवस्थापनको अभावका कारण उक्त समस्या सिर्जना भएको भन्दै छिटै समस्याको समाधान गर्ने अध्यक्ष वहेकले बताए ।