महेन्द्रनगर । महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ शनिबार देखि यो अभियान सुरू भएको हो ।२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार भीमदत्त नगरपालिकाको महिला शाखाले पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाले शनिबार देखि विभिन्न संघ,संस्था सङ्गको समन्वयमा एक कार्यक्रमका बिच शुरुवात गरिएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने भन्दै महिला हिंसा अन्त्यका लागि सबैले आआफ्नो ठाउँ बाट लाग्नुपर्ने नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन ।
उनले महिलाविरूद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देश समेत दिइन् ।
“अझै पनि महिलाहरूले कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएका छन ।” उनले भनिन् ” लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैमा आह्वान गर्दछौं ।”
उनकाअनुसार भोलि बाट सम्पुर्ण वडामा, समुदायमा पुगेर महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम गरिने छ ।


