कञ्चनपुर । कञ्चनपुर जिल्लामा वित्तीय साक्षरता,उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।
सक्षम नारी नेपालको चिनारी संस्थाले आयोजना गरेको वित्तीय साक्षरता,उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी तालिम होटल ओपेरामा २४ र २५ गते भीमदत्त नगरपालिका र महिला उद्यमी महासंघको सहकार्यमा उक्त कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा महिला उद्यमशील महासंघका पूर्व अध्यक्ष निरु राईमाजी,भीमदत्त नगरपालिका सामाजिक विकास कार्यालय प्रमुख गौमती अवस्थी, महिला विकास शाखाका अधिकृत कुन्ती लेखक जोशी, महिला उद्यमी मीना फुलारा, मञ्जु केसी भीमदत्त नगरपालिकाका उद्यमी महिला लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा मन्तव्य राख्दै महिला विकास शाखाका अधिकृत कुन्ती लेखक जोशीले आफूले २०३८ साल देखि महिलाहरुको हक अधिकार र उद्यमी सशक्तिकणको लागि काम गर्दै आएको बताउँदै उक्त भीमदत्त नगरपालिकामा महिलाहरूका लागि महिला उद्यमशील सम्बन्धी तालिम कार्यक्रम ल्याएकोमा सक्षम नारी नेपालको चिनारी संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।
त्यसैगरी भीमदत्त नगरपालिका सामाजिक विकास कार्यालय प्रमुख गौमती अवस्थीले पनि पुरुष सरह महिलाले पनि सक्षम हुनुपर्छ भन्दै महिला सशक्तिकरण हुनु भनेको नै आर्थिक पाटो बलियो हुनु हो भनेर बताउनु भयो । उनले भनिन् ,”महिलालाई आर्थिक रूपमा बलियो बनाउन उद्यमी हुनुपर्छ जसका लागि महिलाले एउटा उदेश्यका साथ भित्रबाट उर्जागर भएर त्यो काम प्रति निरन्तरता दिएर मिहिनेत गरेर त्यो काम लाई अगाडि बढाए सक्षम हुन्छं भन्ने कुरालाई जोड दिनुभयो ।”
महिला उद्यमशील महासंघका पूर्व अध्यक्ष निरु राईमाजीले पनि महिलालाई उद्यमशीलतामा सक्षम बनाएर अगाडि बढाउनु पर्छ भन्दै उनले महिलालाई आर्थिक सशक्तीकरण हुनु जरुरी रहेको बताउनु भयो ।उहाँका अनुसार,” महिलाले उज्वोल जीवन बिताउन, परिवारको लागि खर्च गर्न पैसाको आवश्यक हुन्छ, जसमा पुरुष भन्दा महिलाले पैसाले महत्वपूर्ण कार्य गर्छिन्, त्यसैले महिलाले आत्म निर्भर बन्न उद्यमी बन्नुपर्छ, जसले गर्दा घरेलु हिंसा नी मुक्त हुनका साथै समाजमा इज्जत र मान सम्मान पाइने कुरा व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा भीमदत्त नगरपालिका भरिका महिलाहरूलाई उद्यम तिर प्रोत्साहित गर्नका निमित्त महिलाहरुले के व्यवसाय गरिरहेका छन् ? सफल महिला उद्यमी कसरी बन्ने ? के गर्दा महिला आर्थिक रूपमा बलियो हुन्छ, भन्ने कुरामा छलफल भएको थियो ।





