बजेट नल्याउदा सम्म अर्थमन्त्री थापा सार्वजनिक कार्यक्रममा नजाने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापा सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् ।

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट नल्याउदा सम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने मन्त्री थापाले बताए ।

‘अहिले सम्पूर्ण ध्यान जनतामुखी बजेट ल्याउने तर्फ केन्द्रित छ ।’ उनले भने ‘बजेट नल्याउदा सम्म कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी हुदैँन । जतिसक्दो छिटो बजेट ल्याउने गरी काम गरिरहेका छौँ ।’

उनकाअनुसार आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाकोे पाँचौँ अधिवेशनको पहिलो बैठकमा सामयीक राजश्व संकलनसम्बन्धी अध्यादेश टेबल भएको छ । देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको उल्लेख गर्दै सेवा सुचारु गर्न उक्त अध्यादेश ल्याएको समेत मन्त्री थापाले बताए ।

प्रदेश सरकारले मौजुदा करका दरहरूलाई यथावत् राख्दै अध्यादेश जारी गरेको छ । अध्यादेश जारी गरेसँगै कर सङ्कलनको गाँठो फुकेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर सङ्कलन हुँदै आएको छ ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

ताजा समाचार