देश र जनताका लागि राजनिति गर्दा गर्दै बिहे गर्न बिर्सेका बहादुर

महेन्द्रनगर । पछिल्लो समय नेता बन्न सबैभन्दा सजिलो छ । एक जमाना थियो नेता बन्ने मात्र होइन, एक असल नेता बन्नुपर्छ भन्ने । त्यो जमानामा नेता बन्न जो सबैभन्दा राम्रो वक्ता छ, जो संग राम्रो विचार छ, मानिसहरूमा आफ्नो व्यवहारले प्रभाव पार्न सक्छ, जसले त्याग, संर्घष गरेको हुन्छ, जो इमान्दार हुन्छ ऊ मात्र नेता बन्थ्यो तर अहिले जमाना फेरिएको छ ।

जसले सामाजिक सञ्जालमा बलियो उपस्थिति देखाउँछ, समाजमा स्थापित व्यक्तित्वहरूलाई तल्लो स्तरका अभिव्यक्तिहरू दिन, र नाङ्गेझार पार्न सक्छ, तिनीहरू नेता बन्ने स्थिति बन्दै गएको छ । अहिले नेता बन्न न कुनै विचार, न कुनै त्याग, न कुनै संर्घष केही चाहिदैँन । नेता बन्न कति संर्घष र त्याग गर्नुपर्छ भन्ने कुराको एक उदाहरण हुन् बहादुर सिंह थापा ।

वि.सं. २०१६ सालमा दशरथचन्द नगरपालिका–०८ बैतडीमा जम्मिएका थापाले आधारभुत शिक्षा गाउँकै जगदम्बा प्राथमिक विद्यालयबाट हासिल गरे । कक्षा ६–१० सम्म विरेन्द्र माध्यमीक विद्यालय साहिलेक बैतडीमा अध्ययन गरेका थापा कक्षा १० मै पढ्दा २०३२ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भए ।

वि.सं. २०३२ सालपछि थापा उच्च शिक्षा अध्ययनका लागि भारतको पिथौरागढ गए । थापाले भारतमा पनि नेविसंघ गठन गरी नेतृत्व गरेका थिए । पिथौरागढ बाट विद्यालयको विदामा घर(कञ्चनपुर) आएको समयमा वि.सं. २०३६ सालमा जनमत संग्रह तथा बहुदलीय व्यवस्थाका पक्षमा भएको जनआन्दोलमा प्रत्यक्ष संलग्न भएका थापालाई ३० दिन जेलमा राखियो ।

४० वर्ष बढीको राजनितिक इतिहास बोकेका नेता थापा देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा पटक–पटक जेल चलान भए । वि.सं. २०४२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थापाले २०४६ सालको जनआन्दोलमा उनले कञ्चनपुरमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

वि.सं. २०४७ देखी २०५७ साल सम्म निरन्तर नेपाली कांग्रेस कञ्चनपुरको तत्कालिन निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय सभापती भएर काम गरे । त्यसपछि २०५७ देखी २०७२ सालसम्म नेपाली कांग्रेस कञ्चनपुरको सभापती भएर काम गरेका थापा वि.सं. २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा कञ्चनपुरको तत्कालिन निर्वाचन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका टेकेन्द्र बहादुर भट्टसंग पराजित भए ।

त्यसपछि २०६२/०६३ को जनआन्दोलमा समेत प्रत्यक्ष संलग्न भएका नेता थापाले तीन महिना जेलमा विताए । युवावस्था जनआन्दोलनमा विताएका थापाले देश र जनताका लागि राजनिति गर्दागर्दै बिवाह गर्न बिर्सेको पत्तै पाएनन् । थापाले अहिलेसम्म पनि बिवाह गरेका छैनन् ।

देश र जनताका लागि राजनिति गर्ने चक्करमा उनि बिहे गर्न मात्रै बिर्सेनन्, दैनिकी चलाउन शुरु गरेको व्यापार/व्यवसाय समेत बिर्से । थापाले दैनिकी चलाउन महेन्द्रनगरमा कपडाको व्यवसाय समेत गरेका थिए । यद्यपी राजनितिका कारण समय दिन नसक्दा उनको उक्त व्यवसाय अगाडी बढ्न सकेन ।

आफ्नो र आफ्नो परिवारको भविष्यको प्रवाह नगरी देश र जनताका लागि राजनिति गरेका नेता थापा २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कञ्चनपुरको तत्कालिन निर्वाचन क्षेत्र नं. ३ बाट विजयी भए ।

वि.सं. २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (ख) मा एमालेका (तत्कालिन उम्मेद्धवार) लाल बहादुर खड्कासंग पराजित भए ।

त्यसपछि पनि निरन्तर राजनितिमा सक्रिय रहदैँ आएका नेता थापा वि.सं. २०७९ सालमा भएको प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा एमालेका कृपाराम रानालाई पराजित गर्दै विजयी भए । लामो राजनितिक यात्रा प्रश्चात थापा केही साता अघि सुदूरपश्चिम प्रदेशको आर्थिक मालिला मन्त्री नियुक्त भएका छन् ।

ताजा समाचार