महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजारमा छड्के अनुगमन गरेको छ । विहिवार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख एवम् अनुगमन समितिका संयोजक निलम लेखक जोशी नेतृत्वको टोलीले महेन्द्रनगर बजारमा छड्के अनुगमन गरेको हो ।
नगरपालिकाले विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा बजारस्थित माछा, डेरी एवम् मिठाई पसलमा छड्के अनुगमन गरिएको नगर उपप्रमुख जोशीले बताइन् ।
यस्तै उनले पहिलो चरणमा सम्झाई बुझाई, नमुना संकलन गरिएको र केही पसलमा माछा सडेको र म्याद गुज्रेका सामाग्री जफत गरी नष्ट गरिएको बताइन् ।
‘आज केही माछा पसल, मिठाई र डेरीहरुमा छड्के अनुगमन गरिएको छ ।’ उनले भनिन् ‘पहिलो चरणमा सम्झाई बुझाई गरियो र सडेका,म्याद गुज्रेका सामाग्री जफत गरि नष्ट गरिएको छ ।’
उनले अगाडी भनिन् ‘यो अनुगमनलाई अब निरन्तरता दिइनेछ ।’ यस्तै उनले सामान खरिद गर्दा म्याद हेर्ने र राम्रो संग चेकजाँच गरि मात्र खरिद गर्न नगरवासीलाई आनुरोध गरेकी छन् ।