महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८१ को उपाधि श्री बैजनाथ माध्यमिक विद्यालयले जितेको छ ।
महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, ४ रजत र १ कास्य पदक जित्दै भीनपा–४ स्थित बैजनाथ माविले नगस्तरीय १५ औँ राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो ।
भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यमिक विद्यालयले १२ स्वर्ण, ३ रजत र ९ कास्यपदक जितेको छ । यस्तै पूर्णा माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको छ ।
चार दिनसम्म सञ्चालन भएको प्रतितियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्र्तगत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल खेलाइएको थियो । नगरपालिकाले यो वर्ष आधारभुत तहलाई समेत प्रतियोगितामा समावेश गरेको थियो ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुनेछन् । समापन कार्यक्रमका प्रमुख अथिति एवम् नगर प्रमुख पदम बोगटीले विजयी एवम् सहभागि खेलाडी,विद्यालयलाई बधाई दिदैँ पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवाहरुलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताए ।
यस्तै उनले खेलाडीहरुलाई विगतका वर्षहरु जस्तै यो वर्ष समेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम हुन शुभकामना व्यक्त गरे ।
भीमदत्त नगर खेलकुद विकास समितिका अध्यक्ष सरद चन्दको अध्यक्षतामा सम्पन्न नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, लगाएत वडाध्यक्षहरु, वडासदस्यहरु,जिल्ला खेलकुद समितिका प्रमुख लगाएत विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगाएत विद्यार्थी खेलाडीहरुको उपस्थिति रहेको थियो ।