महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्माणाधिन महाकाली चार लेनको पुल र बाढीको समस्या समाधानमा तत्काल लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव ,महाकाली पुल आयोजनाका प्रमुख लगाएतलाई लिएर गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री लेखकले महाकाली नदिमा निर्माणाधिन पुल, महाकाली नदि र भुजेला खोलाको बाढीको समस्या लगाएतका बारेमा जानकारी तथा स्थलगत अनुगमन गराउदैँ समाधानका लागि चाँडो लाग्न आग्रह गरेका हुन् ।
चार लेन पुल छेउमा निर्माणाधीन पोखरीको बाँधको परिवर्तित डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएका कारण पुलसँगै बन्ने अन्य संरचनाको काम अहिले बन्द छ । गत भदौमा महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो ।
जसका कारण महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र बस्ती बाढीको उच्च जोखिममा रहेको छ ।
‘गएको वर्षातमा महाकाली नदिमा आएको बाढीले ३ सय मिटर बाँध भत्काएको छ । यो बाँध तत्काल निर्माण नभए अब आउने वर्षातमा महाकाली नदि बस्तीमा पस्न सक्ने जोखिम उच्च छ । त्यसैले यो समस्या तत्काल समाधान गर्न हामी यहाँ आएका हौँ ।’ गृहमन्त्री लेखकले भने ‘ यो समस्या समाधान तर्फ तत्काल लाग्न जरुरी छ । म मन्त्रीज्यू ( भौतिक पूर्वाधार तथा यातायातमन्त्री), मन्त्रालयका सचिव, आयोजनका प्रमुखज्यू लगाएतलाई आग्रह गर्न चाहान्छु यो काम आउँदो जेठ भित्र सम्पन्न गर्ने गरी लाग्दिनु होला ।’
यस्तै मन्त्री लेखकले भुजेला खोलाको बाढीको समस्या समेत समाधानका लागि टेण्डर प्रक्रिया अगाडी बढेको बताए ।
‘यो भुजेला खोलाको पानी महाकाली नदिमा पानीको बहाव बढेपछि थुनिएर बस्तीमा पस्ने समस्या छ ।’ उनले भने ‘यो समस्या समाधानका लागि अहिले टेण्डर प्रक्रिया अगाढी बढीसकेको छ । चाँडै काम शुरु हुन्छ ।’
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले महाकाली नदि भुजेला खोलाको बाढी, महाकाली पुल निर्माण लगाएतका समस्याबारे जानकारी गराउँदैँ चाँडो समस्या समाधानका गर्न मन्त्रीद्धयलाई आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले बस्तुस्थिति बुझेर समस्या समाधानमा तत्काल लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अनुगमनमा गृहमन्त्री लेखक, यातायातमन्त्री दाहाल सहितका संघीय सरकारका मन्त्री, प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, आर्थिक मामिलामन्त्री बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, प्रदेश सभा सदस्यत्रय प्रकाश रावल, बेल बहादुर राना, मधु भारती, भीमदत्त नगरपालिका नगर प्रमुख बोगटी सहितका तीनै तहका सरकार, कर्मचारी, स्थानियहरु लगाएतको सहभागिता रहेको थियो ।
केन्द्रिय सरकारका मन्त्री देखि पालिका प्रमुख लगाएत सरकारका प्रतिनिधिहरुले अनुगमन गरेसंगै स्थानीय समेत समस्या समाधान हुनेमा आशावादी देखिएका छन् ।