महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले लागु औषध दुर्व्यशन न्यूनिकरणका लागि अभिभावकहरु सचेत हुन जरुरी भएको बताए । सोमवार जनज्योती सेकेन्डरी स्कुलको शैक्षिक महोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोदन गर्दै नगरप्रमुख बोगटीले त्यसो भनेका हुन् ।
‘पछिल्लो समय युवाहरु लागु औषधको दुर्व्यशनमा फस्दै गइरहेका छन् ।’ उनले भने ‘यसको न्यूनिकरणका लागि विद्यालय, सरकार, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै लागिरहेको छ । यद्यपी आफ्ना बालबालिकाहरुको संगत को संग छ, उनिहरुको व्यवहार, विद्यालय समयमा जान्छ जादैन, घर समयमा फर्किन्छ, फर्किदैन यी सबै कुरामा सबैभन्दा बढी अभिभावकहरु सचेत हुन अति नै आवश्यक छ ।’ उनले अगाडी भने ‘सम्पूर्ण अभिभावकहरुले आफ्ना बच्चाहरुप्रति जिम्मेवार भएर उनिहरुको क्रियाकलापहरुको निगरानी गरिदिए लागु औषध दुर्व्यशन न्यूनिकरण गर्न सकिन्छ ।’
यस्तै उनले जनज्योती स्कुलले यस क्षेत्रको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै विद्यालय एवम् विद्यार्थीहरुको विकासका लागि सक्दो आवश्यक सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगर प्रमुख बोगटीको प्रमुख आथित्यतामा सम्पन्न भएको विद्यालयको शैक्षिक महोत्सवमा विभिन्न सरकारी गैरसरकारी संघसंस्था प्रमुख एवम् प्रतिनिधिहरु, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, अभिभावक, विद्यार्थी लगाएको उपस्थिति रहेको थियो ।
महोत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम, विज्ञान तथा कला प्रदर्शनी, पुरस्कार वितरण लगाएतका कार्यक्रम गरिएको थियो ।











