महेन्द्रनगर । शारीरिक अपाङ्गता परिक्षण घुम्ति शिविरबाट ४९ जना बालाबालिकाहरुले सेवा लिएका छन् ।
बिकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एचआरडिसी) संगको साझेदारीमा भीमदत्त नगरपालिकाले बुधवार संञ्चालन गरेको उक्त शिविरमा अपाङ्गता भएका ४९ जना बालबालिकाहरुले सेवा लिएका हुन् ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले शिविरको स्थलगत अनुगमन गर्दै विभिन्न कारण अपाङ्ग भएका १८ वर्षमुनीका बालबालिकाहरुको परिक्षण र उपचारका लागि शिविर संञ्चालन गरिएको बताए ।
शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेको, भाँचिएर बाङ्गो भएको, खुट्टा लुलो र कमजोर, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँडम्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका, हड्डी पाकेर पिप आईरहने, औंलाहरु एक–आपसमा टाँसिएको वा बढी भएको लगाएतका समस्या भएका बालबालिकाहरुको परिक्षण,उपचार र आवश्यक सल्लाह सुझाव प्रदान गरिएको छ ।
घरआगनमै सेवा तथा उपचार पाएपछि सेवाग्राहीले खुशी व्यक्त गरेका छन् ।