महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सञ्चालन गर्दै आएको ‘उपप्रमुख गरिव, विपन्न सहयोग कार्यक्रम’ विपन्न, गरिब र दुखमा परेका व्यक्तिहरूका लागि सहाराको माध्यम बनेको छ ।
कार्यक्रम अन्तर्गत विपन्न र दुखमा परेका व्यक्तिहरूलाई आवश्यकता अनुसार सहयोग स्वरुप खाद्यान्न, कपडा र अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराउँदै आएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन ।
‘समाजमा दुई छाक खाना खान समेत धौ धौ भएका विपन्न एवम् कुनै दुर्घटना, संकट, दुखमा परेका व्यक्तिहरुलाई यो कार्यक्रम मार्फत केही राहत होस भन्ने उदेश्यले आवश्यक सामाग्री सहयोग गर्दै आएको छौँ ।’ उनले भनिन् ‘यस कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ ।’
सहयोग प्राप्त गरेका एवम् गरिव विपन्न परिवारका व्यक्तिहरूले उक्त कार्यक्रमको प्रशंसा गरेका छन् । ‘भीमदत्त नगरपालिकाको सहयोगले हाम्रो परिवारलाई संकटको समयमा ठूलो राहत मिल्यो ।’ एक लाभार्थीले भने ‘ दुखमा सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद भन्न चाहान्छु ।’
उक्त कार्यक्रम अन्तर्गत आज (मंगलवार ) मात्रै १५ जना विपन्न, गरिव र दुखमा परेका व्यक्ति एवम् परिवारलाई घर-घरमै पुगेर खाद्यान्न लगाएत आवश्यक सामाग्री सहयोग गरिएको छ ।
नगर उपप्रमुख जोशी नेतृत्वको टोलीले घरदैलोमा पुगेर १५ परिवारलाई आवश्यक सहयोग गरेको हो ।
गरिवी एवम् अन्य कारणले पिडामा रहेका, दुई छाक खान समेत समस्या परेका परिवारलाई आवश्यक सहयोग गरिएको नगर उपप्रमुख जोशीले बताईन ।