मेयर बोगटीले विद्यार्थीहरुलाई भनेः मान्छे ठूलो होइन, असल र इमान्दार बन्नुपर्छ

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आज(शुक्रवार) इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले स्थानीय तहले प्रवाह गर्ने सेवा र संरचनाको स्थलगत अनुगमन गरेका छन् । विद्यार्थीहरुलाई नगरका विभिन्न सेवा क्षेत्रहरूको जानकारी दिने उद्देश्यसहित गरिएको कार्यक्रममा नगर प्रमुख पदम बोगटी उपप्रमुख नीलम लेखक जोशी स्वयं उपस्थित भई विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका हुन् ।

नगर प्रमुख बोगटीले अनुगमन टोलीलाई स्थानीय तहले प्रदान गर्ने सेवा, बजेटको व्यवस्थापन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी, फोहोरमैला व्यवस्थापनजस्ता विषयहरूमा विस्तृत जानकारी दिए । उनले नगरपालिका नागरिकका समस्या समाधानका लागि निरन्तर लागि परिरहेको बताउँदै जनप्रतिनिधिहरूको भूमिकाबारे पनि विद्यार्थीहरुलाई स्पष्ट पारे । यस्तै उनले मान्छे ठुलो नभएर असल, इमान्दार हुनुपर्ने बताए ।

‘यहाँ कोही ठुलो होइन म पनि ठुलो होइन, अमेरिकाको राष्ट्रपती समेत ठुलो होइन ।’ उनले भने ‘मान्छे ठूलो नभएर असल र इमान्दार बन्नुपर्छ । असल र इमान्दार नागरिक बन्ने संकल्प गर्नु सबैभन्दा जरुरी छ ।’

यस्तै उनले विद्यार्थीहरुलाई तपाईहरु भविष्यका कर्णधार भएको भन्दैँ नैतिकता, सेवाभाव, र पारदर्शिता बोकेर अघि बढ्न आग्रह गरे ।

विद्यार्थीहरुसंगको संवादमा नगर उपप्रमुख लेखकले न्यायीक समितिले प्रवाह गर्ने सेवा लगाएतका बारेमा जानकारी दिदैँ पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनीमा फस्दैँ गएकोले त्यसबाट टाढा रहन विद्यार्थीहरुलाई आग्रह गरिन् ।

विद्यार्थीहरुले नगरपालिकाको विभिन्न शाखाहरू – प्रशासन, योजना तथा अनुगमन, सामाजिक विकास, वातावरण तथा फोहोरमैला व्यवस्थापन, आर्थिक प्रशासन,राजस्व लगायतको कार्यप्रणालीको अवलोकन गरका थिए ।

सो अवसरमा विद्यार्थीहरुले सेवा प्रवाह, नागरिक सहयोग, गुनासो व्यवस्थापन प्रणाली लगायतका विषयमा नगर प्रमुख लगायत कर्मचारीहरूसँग जिज्ञासा समेत राखे । अनुगमनमा सहभागी एक विद्यार्थीले भने ‘स्थानीय सरकार कसरी काम गर्छ भन्ने प्रत्यक्ष बुझ्न पाउनु हाम्रो लागि अत्यन्त उपयोगी अनुभव रह्यो । नगर प्रमुखको सरल र प्रेरणादायी भनाइले हामीलाई अझ जिम्मेवार बनायो ।’

कार्यक्रमको समापनमा विद्यालयका प्रतिनिधिले नगरपालिकालाई धन्यवाद दिँदै यस प्रकारको अभ्यासले विद्यार्थीमा नेतृत्व विकास, नागरिकता शिक्षा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गरे ।

ताजा समाचार