महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ को आयोजनामा बेदकोट नगरपालिका–०७, रौटेलास्थित वृद्धाश्रममा खिर खुवाउने तथा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले सामाजिक सेवा नै राजनीतिको मूल आधार भएको बताउदै , पदमा रहे पनि नरहे पनि जनताको समस्या समाधानका लागि निरन्तर लागिरहने बताए ।
“सामाजिक सेवा नै राजनीतिको मूल आधार हो ।” उनले भने “म पदमा रहेपनी नरहेपनी जनताका समस्या समाधानको प्रयास निरन्तर गरिरहने छु ।”
कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनवटै तहका सरकारहरूबीच प्रभावकारी समन्वय र तालमेल हुनुपर्ने समेत बताए । “कसैले विरोध गर्यो, चित्त दुखायो भनेर उसलाई सिध्याउने तिर होइन, जनप्रतिनिधिले उहाँहरुलाई चित्त बुझ्ने गरी काम गर्नुपर्छ,” उनले भने, “हामीलाई जनताले जुन विश्वासका साथ जिताएका छन्, त्यसको मर्म अनुसार काम गर्नु पर्छ ।” उनले अगाडि भने “जनताका समस्या समाधानका लागि हामी तीन वटै तहका सरकार, जनप्रतिनिधि बिच समेत तालमेल हुनुपर्छ ।”
कार्यक्रममा वृद्धाश्रममा बसोबास गरिरहेका वृद्धवृद्धालाई खिर खुवाउनुका साथै फलफुल वितरण गरिएको थियो ।
सामाजिक भावनाले प्रेरित कार्यक्रममा कांग्रेसका स्थानीय नेता, जनप्रतिनिधि, विभिन्न भातृ तथा सुभेच्छुक संगठनका प्रतिनिधिहरू लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।