महेन्द्रनगर । आइतबार देखी परिरहेको निरन्तरको बर्षाका कारण महाकाली र जोगबुडा नदिमा आएको बाढीले सायौँ व्यक्ति विस्थापित भएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीका कारण सोमवार साझ ५ बजेसम्म सशस्त्र प्रहरीका दुई बिओपी सहित ५२ घर डुवानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सागर बोहोराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ रामपुरे टापुका २५ घरपरिवारका ७० जना, वडा नम्बर ३ टपरा खल्लाका १५ घरपरिवारका ५५ जना, वडा नम्बर १० शान्ती टोलका १२ घरपरिवारका ४० जना, वडा नम्बर ७ कञ्जभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीमा रहेका ३० जना, वडा नम्बर १० सुन्दरनगरमा रहेको बिओपीका २३ जना सुरक्षाकर्मी गरी जम्मा २ सय १८ जना बाढीका कारण विस्थापित भएका छन् ।
निरन्तर परिरहेको वर्षाका कारण जोगबुडा नदिमा आएको बाढी बस्तीमा पस्दा दोधारा चाँदनी क्षेत्र प्रभावित बनेको डिएसपी बोहोराले बताए । बाढी प्रभावित सुरक्षाकर्मी र घरपरिवारका व्यक्तिलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
डिएसपी बोहोराका अनुसार रामपुरे टापुका २५ घरपरिवारका ७० जनालाई दोधारा चाँदनी नगरपालिका–०८ जनज्योती माध्यमिक विद्यालयमा, टपरा खल्लाका १५ परिवारका ५५ जनालाई जमुना आधारभुत विद्यालयमा, शान्ती टोलका १२ परिवारका ४० जनालाई अम्विका माध्यमीक विद्यालयमा, कञ्जभोजमा रहेको बिओपीका ३० जना सुरक्षाकर्मीलाई शहरी खोप केन्द्रको भवनमा र सुन्दरनगरमा रहेको बिओपीका २३ जना सुरक्षाकर्मीलाई ओमकार आधारभुत विद्यालयमा सारिएको छ ।
‘निरन्तरको वर्षाका कारण आएको बाढीबाट विस्थापित २ सय १८ जनाको सकुशल उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ ।’ डिएसपि बोहोराले भने ‘अहिले पनि निरन्तर पानी परिरहेको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगाएतको टोली निरन्तर प्रभावित क्षेत्रमा उद्धारको कार्यमा खटिएको छ ।’ उनले अगाडी भने ‘उद्धार गरिएका व्यक्तिहरुलाई खानाको व्यवस्था सम्बन्धित क्षेत्रमा रहेका सिडिएमसीले गर्ने गरि व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ ।’
हाल महाकाली नदिमा पानीको बाहब १ लाख ९५ हजार ४ सय ५० क्यूसेक रहेको बताइएको छ । डिएसपी बोहोराले पानी निरन्तर परिरहेकोले सुरक्षा अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।





