महेन्द्रनगर । नक्सांकन र समुदाय–आधारित अनुसन्धानमा सहकार्यलाई सुदृढ पार्ने उद्देश्यले सुदूरपश्चिम विश्वविद्यालय युथ म्यापर्स नेपाल र काठमाडौं विश्वविद्यालय युथ म्यापर्सबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता कार्यक्रम काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय युथ म्यापर्स नेपालका अध्यक्ष किरण भट्ट र काठमाडौं विश्वविद्यालय युथ म्यापर्सकी अध्यक्ष प्रतिभा थापाले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत दुवै युथ म्यापर्स संस्थाले संयुक्त नक्सांकन गतिविधि सञ्चालन गर्ने, ज्ञान र सीप आदान–प्रदान गर्ने तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्नेछन् । यसलाई विद्यार्थी तथा युवामाझ खुला नक्सांकन प्रवर्द्धन गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
विशेषज्ञहरूले यस सहकार्यलाई नक्सांकन क्षेत्रमा चासो राख्ने विद्यार्थीहरूका लागि ठूलो अवसर र उपलब्धिको रूपमा मूल्याङ्कन गरेका छन् । साथै, समुदाय–आधारित पहलमार्फत दीगो प्रभाव सिर्जना हुने विश्वास गरिएको छ ।


