महेन्द्रनगर । भदौँ २३ गते (सोमवार) सामाजिक सञ्जाल प्रतिवन्ध र भष्ट्राचार विरुद्ध जेनजी पुस्ताका युवाहरुले काठमाण्डौँ र अन्य सहरमा गरेको प्रदर्शनमा गोलि लागेर १९ जना युवाको ज्यान गयो । जेनजी पुस्ताले शान्तीपूर्ण आन्दोलनको घोषणा गरेको थियो ।
यद्यपी काठमाण्डौँमा संसद भवन र इटहरी, पोखरामा पालिका भवनहरुमा तोडफोड र आगजनीको प्रयास भएपछि प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गयो ।
त्यसको भोलिपल्ट (मंलवार) आक्रोशित युवाहरुले देशभर सरकार विरुद्ध आन्दोलन गरे । १९ जनालाई गोलि हानेर मारिएको विरोधमा कञ्चनपुरमा समेत विहानदेखी जेनजी समर्थक युवाहरु प्रदर्शनमा उत्रिए ।
महेन्द्रनगरको भानुचोक देखी शुरु भएको आन्दोलन भीमदत्त नगरपालिकाको प्रवेशद्धारसम्म पुग्दा शान्तिपूर्ण नै थियो । भानुचोक देखी नेपाली कांग्रेस कञ्चनपुरको कार्यालय, त्यसपछि जिल्ला प्रहरी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय हुदैँ भीमदत्त नगरपालिका पुग्दा सम्म आन्दोलन शान्तीपूर्ण जस्तै थियो ।
उनिहरुले कार्यालयको अगाडी टायर बालेर, नाराबाजी गरेर विराध प्रदर्शन गरिरहेका थिए । जब उनिहरु जिल्ला प्रशासन कार्यालय पुगे त्यहाँ कार्यालयमा आगजनी, तोडफोड भयो । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेर कार्यालयको सुरक्षा ग¥यो ।
शान्तीपूर्ण रुपमा भइरहेको प्रदर्शन एकाएक अराजक गतिविधि तर्फ उन्मुख भयो । प्रदर्शनमा सहभागि एकजना जेनजी समर्थकका अनुसार केही राजनितिक दल, दलका भातृसंगठन संग आवद्ध नेता कार्यकर्ता र केही अराजक समुह प्रदर्शनमा होमिएपछि अराजक गतिविधि भएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा आगजनीपछि केही राजनैतिक दलसंग आवद्ध र अराजक समुहले आन्दोलनलाई आ–आफ्नो स्वार्थ केन्द्रित बनाए । प्रदर्शनकारीहरु कसैको नेतृत्वमा रहेनन् । जेनजीको नाममा आ–आफ्नो स्वास्र्थपुर्थिमा सक्रिय भए ।
जिल्ला प्रशासन कार्यालयमा आगजनी पश्चात प्रदर्शनकारीहरुले राजिनामा दिएका गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपाकिला–०८ स्थित घरमा तोडफोड आगजनी गरे । त्यसपछि छानि–छानि व्यक्तिगत सम्पती माथी ताडफोड, आगजनी, लुटपाट हुन थाल्यो ।
जेनजीका नाममा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रकाश रावल, मधु भारती, नेकपा एमाले नेतृ निरु देवि पाल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोरा, उपप्रमुख नीलम लेखक जोशी, भीमदत्त नगरपाकिलाका पूर्व नगरप्रमुख सुरेन्द्र विष्ट लगाएतको घरमा तोडफोड र आगजनी गरियो ।
नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा पुनः आगजनी गरियो । जिल्ला कारागारमा रहेका कैदिबन्दीलाई समेत जेनजी आन्दोलनका नाममा भगाइयो । उक्त आन्दोलमा सहभागि एकजना युवाले जेनजीको नाममा केही व्यक्तिहरुले आफ्नो स्वार्थ बमोजिम अराजक गतिविधि गरेको बताए ।
‘हाम्रो आन्दोलन शान्तीपूर्ण नै थियो । आगजनी व्यक्तिगत सम्पती लुटपाट हाम्रो उद्देश्य थिएन ।’ एक जना जेनजी समर्थकले भने ‘केही राजनितिक दलमा आस्था राख्ने र अराजक समुहले आफ्नो स्वार्थपूर्तिका लागि जेनजी आन्दोलनको गलत फाइदा उठाए ।’ उनकाअनुसार मान्छेका निजि घरभित्र प्रवेश गरि आन्दोलका नाममा केही अराजक व्यक्तिहरुले रुपैया, सुनचाँदी लुटपाट गरेको समेत देखियो ।
जेनजीको उद्देश्य कारागारमा रहेका कैदिबन्दी छुटाउनु थिएन तर केही व्यक्तिको स्वार्थ कैदिबन्दी छुटाउनु थियो, कसैको लुटपाट, कसैको आगजनी, कसैको राजनिति सबैका आ–आफ्ना स्वार्थ थिए । उक्त आन्दोलनमा सहभागि भएका कतिपय युवाले त सामाजिक सञ्जालमै जेनजीको नाममा घुसपैठ गरि अराजक गतिविधि गरेको भनेर लेखेका छन् ।
कारागारबाट भागेका कैदिहरुले जिल्लाका विभिन्न क्षेत्रमा जबरजस्ती करणी लगाएतका अपराध गरिरहेका खबर समेत प्राप्त भएका छन् । अहिले जेनजीको नाममा भएको अराजक गतिविधिको विरोध भइरहेको छ ।
केही पार्टी विशेषका पार्टी कार्यालय, नेताका घर भवन जल्नु तर केही दलका केही नजल्नुलेको कारण के हो ?, जेनजी आन्दोलनका नाममा सार्वजनिक र व्यक्तिगत सम्पती लुटपाट तथा आगजनी गर्ने अधिकार कस्ले दियो ? प्रश्न उठिरहेका छन् ।
यतिबेला जेनजीको यो आन्दोलनका नाममा महेन्द्रनगर मात्र नभएर देशभर घुसपैठ भएको र घटनाको छानबिन गरिनुपर्ने माग उठिरहेको छ ।