कञ्चनपुरका विद्यार्थी संघ–संगठनद्वारा संयुक्त विज्ञप्ति : राजनीतिक निकास लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्ने माग

प्रकाशित मिति:
  • उपेश सिंह धामी

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न विद्यार्थी संघ–संगठनहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै हालै जेन जि (Gen Z) को आह्वानमा भएको आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको भन्दै उनीहरूले घटनाप्रति स्तब्धता प्रकट गर्दै निन्दा गरेका हुन् ।

विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । साथै विद्यार्थी संगठनहरूले जेन जि का प्रमुख माग—भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता—लाई पूर्ण समर्थन जनाएका छन् ।

प्रधानमन्त्रीको राजीनामापछि पनि अवाञ्छित तत्वले गरिरहेको आगजनी, तोडफोड, लुटपाट तथा सार्वजनिक सम्पत्तिमा गरिएको क्षतिप्रति विद्यार्थी संगठनहरूले कडा आपत्ति जनाएका छन् । सुरक्षा निकाय मुखदर्शक बनेर बसेको भन्दै घटनाबारे गम्भीर समीक्षा र सुरक्षा निकायको भूमिकाको पुनरावलोकन गर्नुपर्ने माग समेत गरिएको छ ।

विज्ञप्तिमा अबको राजनीतिक यात्रामा विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र अघि बढ्नुपर्ने स्पष्ट गरिएको छ । जेन जि का युवा वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने अडानमा रहेको उल्लेख गर्दै उनीहरूले आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य र मान्यताको अधीनमा रहेर मात्र गर्नुपर्ने माग दोहोर्याएका छन् ।

विद्यार्थी संघ–संगठनहरूले देशभरका युवाहरूलाई संयमित रहन आग्रह गर्दै नेपालका लोकतान्त्रिक उपलब्धि, गणतन्त्र, राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षणमा दृढ प्रतिबद्धता जनाएका छन् ।

यस्तै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सन्जय अधिकारीले राष्ट्रपतीलाई तत्लाल सार्वजनिक गर्नुपर्ने र आगामी राजनीतिक वार्ता राष्ट्रपतीसङ्ग गरिनु पर्ने समेत बताए ।

ताजा समाचार