भीमदत्त नगरपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना गोष्ठि सम्पन्न

प्रकाशित मिति:

महेन्द्रनगर । आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठि भीमदत्त नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूले आर्थिक वर्षभर सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम र उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजनाहरू तय गरिएको हो ।

गोष्ठिमा नगरप्रमुख पदम बोगटी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, वडाध्यक्षहरू, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि लगाएत कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान समेत गरिएको छ ।

कार्यसम्पादनका आधारमा वडा नम्बर १६ स्थित शहरी स्वास्थ्य केन्द्र बसन्तपुर प्रथम, वडा नम्बर ७ स्थित शहरी स्वास्थ्य केन्द्र हल्दुखाल द्वितीय, र वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र तृतीय घोषित भएका छन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई नगरप्रमुख बोगटीले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए । नगरप्रमुख बोगटीले कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएकाले यसको गुणस्तर र पहुँच विस्तार नगरपालिकाको प्राथमिकता रहेको बताए ।

यस्तै उनले आगामी वर्षमा समुदायस्तरमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सबै पक्षलाई जिम्मेवार र समन्वित ढंगले काम गर्न आग्रह समेत गरे ।

ताजा समाचार