नगरप्रमुख बोगटीद्वारा प्रभात विद्या निकेतनलाई ५१ हजार रुपैयाँ सहयोग घोषणा

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले प्रभात विद्या निकेतन (सार्वजनिक शैक्षिक गुठी) माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर उन्नयन तथा समग्र विकासका लागि व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार भीमदत्त नगरपालिका–१६ स्थित विद्यालयको नवनिर्मित सभा कक्ष उद्घाटन तथा शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा नगर प्रमुख बोगटीले आफ्ना स्वर्गीय आमा–बुवाको स्मृतिमा सहयोगको घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने “भर्खरै अझ तीन कट्ठा जग्गा बेचेको छु । त्योबाट मेरा स्वर्गीय आमा–बुवाको नाममा यो विद्यालयलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । जेनजीका नाममा घुसपैठ गरि सार्वजनिक तथा निजि घरमा आगो लगाइए पनि मेरो सोच, क्षमता र नैतिकतामा कसैले केही गर्न सक्दैन ।” उनले अगाडि भने “चरा देखेर हवाईजहाज बनाउने र गुलेली लिएर दौडने बीच ठूलो फरक हुन्छ, त्यसैले जीवनमा जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक सोच राख्नु आवश्यक छ ।”

नगर प्रमुख बोगटीले विद्यालय शिक्षामा नयाँपन र सिर्जनशीलता ल्याउन नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिँदै विद्यार्थीहरूको कला, सीप र क्षमता उजागर गर्न यसले सहयोग पुर्‍याउने बताए। साथै उनले सबैलाई शुभ दिपावली र छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरे ।

त्यस अवसरमा नगर उपप्रमुख नीलम लेखक जोशीले पनि विद्यालयको समग्र विकासका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैमा पर्वको शुभकामना दिइन् ।

कार्यक्रममा वडा नं. १६ र १३ का वडाध्यक्षहरू, वडासदस्य, प्याब्सन–एनप्याब्सनका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

ताजा समाचार