- उपेश सिंह धामी
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०३ भाँसी स्थित सहयात्री बहुमुखी सहकारी संस्थाको १७औँ वार्षिक साधारण सभा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख बोगटीले सहकारी संस्था समुदायको आर्थिक र सामाजिक विकासको महत्वपूर्ण आधार भएकाले संस्थाले पारदर्शिता, विश्वास र सदस्य–मैत्री सेवामा निरन्तरता दिनु आवश्यक रहेको बताए । उनले सहयात्री सहकारीले शिक्षा, स्वास्थ्य, आकस्मिक राहत तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसायोग्य भएको समेत बताए ।
यस्तै उनले नगरपालिका सहकारीमैत्री नीतिमार्फत यस्था संस्थाहरुसंग हातेमालो गर्दै अगाडीबढ्न तयार रहेको भन्दैँ आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारीको प्रगती प्रतिवेदन अनुसार २०६५ सालमा स्थापना भएको सहकारीमा २०८१÷०८२ को अन्त्यसम्म ४२० महिला र ३७६ पुरुष गरी ७९६ सेयर सदस्य रहेका छन् । बालबचत कार्यक्रममार्फत ३२४ बालबालिका जोडिएसँगै सहकारीमा हाल १ हजार ११० जना बचतकर्ता पुगेका छन् ।
आर्थिक विवरणअनुसार संस्थाको सेयर पूँजी १ करोड ७३ लाख ९६ हजार ७ सय पुगेको छ । यस आर्थिक वर्षमा ३ करोड ६९ लाख १० हजार १७४ बचत संकलन तथा २ करोड ८२ लाख ६३ हजार ऋण लगानी भएको छ । सोही अवधिमा २ करोड ५३ लाख ८३ हजार ९५२ ऋण असुल भई २०८२ असार मसान्तसम्म कुल ऋण लगानी ४ करोड ३३ लाख ६१ हजार २४३ पुगेको छ । सहकारीले स्थायी सेवा विस्तारका लागि आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेको छ ।
सहकारीले आर्थिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको छ । आर्थिक अभावका कारण कुनै पनि सदस्य वा बचतकर्ताका बालबालिका शिक्षाबाट वञ्चित नपर्ने सुनिश्चितता, दुर्घटना तथा आकस्मिक अवस्थाका सदस्यलाई तत्काल सहयोग, तथा समुदायमा सुख–दुःखका समयमा सहकार्यजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । कार्यक्रममा अन्य वक्ताहरूले पनि सहकारीको भूमिकालाई उच्च मूल्यांकन गरेका छन् ।
नगर उपप्रमुख नीलम लेखक जोशीले सहकारीले महिलालाई आर्थिक रूपमा सबल बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै कानुन सम्वत नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
संस्थाका सल्लाहाकार तथा संस्थापक अध्यक्ष गौराज बहादुर लिम्बुले सहकारीले सुरु गरेको सामाजिक सहयोग कार्यक्रम दीर्घकालीन रूपमा समुदायमैत्री बनेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनैपनि बालबालिकाको शिक्षा, उपचारमा समस्या हुन नदिने गरि संस्थाले काम गर्दै आइरहेको छ ।
सल्लाहाकार शंकर चन्दले भविष्य बनाउन र ज्यान जोगाउने उद्देश्यले संस्थाको रहेको बताए । साधारण सभामा उत्कृष्ट विद्यार्थी, खेल क्षेत्रमा सक्रिय खेलाडी तथा समाजका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद अवस्थीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभामा सेयर सदस्य, बचतकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिताले रहेको थियो ।


