भीमदत्त नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रकाशित मिति:

-लक्ष्मी चौधरी

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सुरु गरिएको छ ।

नगर उपप्रमुख नीलम लेखक जोशीको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्री, नगरपालिका अन्तर्गतका संघ–संस्था, कर्मचारी तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भारतीले कानुनी संरचना पर्याप्त भए पनि व्यवहारगत परिवर्तन नआएसम्म लैङ्गिक हिंसा नियन्त्रण चुनौतीपूर्ण रहने बताउँदै स्थानीय तहबाट सुरु भएका यस्ता अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन् ।

नगर उपप्रमुख जोशीले लैङ्गिक हिंसा समाजमा देखिने गम्भीर समस्या भएकाले यसविरुद्ध निरन्तर सचेतना अभियान आवश्यक रहेको बताइन् । विद्यालय र समुदायमा पुगेर बालबालिका तथा महिलालाई व्यवहारिक रूपमा सचेत र सक्षम बनाउने कार्यले हिंसा नियन्त्रण न्यूनिकरण हुने विश्वास उनले व्यक्त गरिन् ।

प्रहरी प्रमुख खत्रीले समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लैङ्गिक हिंसाका घटना हुने गरेको जानकारी दिँदै प्रहरी प्रशासन संवेदनशीलता र तत्परताका साथ नागरिक सुरक्षामा खटिएको बताए ।

समुदायमा गएर प्रत्यक्ष संवाद तथा सचेतना कार्यक्रम सञ्चालन गर्दा हिंसा रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल हुने वक्ताहरुले विश्वास गरे । अभियानअन्तर्गत विद्यालय र समुदायमा गई बालबालिकालाई सुरक्षित व्यवहार, महिलालाई आत्मरक्षा तथा कानुनी अधिकारबारे सचेतना जगाउने विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

ताजा समाचार