-उपेश सिंह धामी
महेन्द्रनगर । बेदकोट नगरपालिका–०८ गैलनदीस्थित अस्थायी प्रहरी पोष्टलाई सवारी साधन सहयोग गर्ने उद्देश्यसहित समुदाय–मुखी कार्यक्रम आयोजना हुने भएको छ ।
लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभिवृद्धि, युवामा सकारात्मक सोच विकास र स्थानीय सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने लक्ष्यसहित मंसिर २० गते विशेष कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।
घटाल युवा विकास समाजको मुख्य आयोजनामा तथा लायन्स क्लब अफ क्वालिटीको सह–आयोजनामा बैजनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको बताइएको छ ।
समाजका उपाध्यक्ष तथा चर्चित गायक नवराज कलौनीका अनुसार कार्यक्रममा गैलनदी क्षेत्रको सुरक्षा व्यवस्थालाई सहज बनाउन प्रहरी पोष्टलाई सवारी साधन सहयोगार्थ, जसले आपतकालीन घटना भएमा द्रुत कारवाहीमा सहयोग पुर्याउने छ ।
लागुऔषध दुर्व्यसनविरुद्ध प्रभावकारी जागरण चलाउन स्थानीय विद्यार्थी, अभिभावक, युवाहरु र सामुदायिक समूहहरूलाई लक्षित गरी सचेतना सत्र सञ्चालन गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममार्फत युवालाई जोखिमपूर्ण व्यवहारबाट जोगाउने, स्वस्थ जीवनशैलीप्रति प्रेरित गर्ने तथा समुदायलाई लागुऔषधजन्य समस्याको पहिचान, रोकथाम र उपचारबारे स्पष्ट मार्गदर्शन प्रदान गरिने कलौनीले बताए ।
यसबाहेक, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित आकर्षक सांस्कृतिक कार्यक्रम, अतिथिहरूको स्वागत–सत्कार, सामाजिक उत्तरदायित्वका विषयमा छलफल, तथा समुदाय–प्रहरी सहकार्यलाई मजबुत बनाउने सन्देशमूलक कार्यक्रमहरू पनि रहनेछन् ।


