महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ अधिवेशनबाट अध्यक्षमा दिनेश मल्ल र महासचिवमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
संघको जारी १८ औँ अधिवेशनअन्तर्गत कोषाध्यक्ष पद बाहेक अन्य सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् । अध्यक्ष पदमा मल्ल र महासचिव पदमा भट्टको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत तथा सचिवमा नरेन्द्रप्रसाद जोशी पनि निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा तीन जना र सदस्यमा १४ जनाले उम्मेदवारी दिएका छन् । उक्त पदहरुमा समेत सहमतीको प्रयास भइरहेको छ ।
नवनिर्वाचित नेतृत्वले कञ्चनपुर जिल्लाको उद्योग, व्यापार तथा वाणिज्य क्षेत्रको समग्र विकास, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हक–हित संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


