महेन्द्रनगर । भीमदत्त नगरपालिका-०२ खोल्टी स्थित श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भट्ट पुनः चयन भएका छन् ।
विद्यालयको अभिभावक भेला तथा व्यवस्थापन समिति पुनर्गठन बैठकबाट भट्ट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । अघिल्लो कार्यकालमा अध्यक्ष भट्टले विद्यालयको शैक्षिक, भौतिक तथा प्रविधिमैत्री विकासका लागि उल्लेखनीय योगदान पुर्याएका थिए ।
उनको नेतृत्वमा विद्यार्थीहरूको आवागमनलाई सहज बनाउन स्कुल बसको व्यवस्था गरिएको थियो भने विद्यालयमा नयाँ भौतिक संरचना निर्माण गरी पठन–पाठनको वातावरण थप अनुकूल बनाइएको थियो ।
त्यसैगरी, सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै कम्प्युटर ल्याब स्थापना गरिएको, विद्यालयको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको तथा अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिएको विद्यालयले जनाएको छ ।
कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री र प्रभावकारी अध्यापन प्रणाली लागू गरिनु, अङ्ग्रेजी माध्यम बाट अध्यापन लागू गर्नु अध्यक्ष भट्टको कार्यकालका प्रमुख उपलब्धिका रूपमा लिइएको छ ।
साथै, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन तथा अभिभावक–विद्यालय सम्बन्ध मजबुत बनाउने दिशामा समेत निरन्तर प्रयास हुँदै आएका छन् । गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न सुधारात्मक कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ ।
पुनः अध्यक्षमा चयन भएपछि भट्टले आगामी कार्यकालमा विद्यालयलाई अझ व्यवस्थित, अनुशासित र शैक्षिक रूपमा सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै विद्यालयको समग्र विकासमा निरन्तर लाग्ने बताएका छन् ।
भट्टको पुनः चयनसँगै सरस्वती माध्यमिक विद्यालयको शैक्षिक सुधार, प्रविधिको प्रयोग र भौतिक पूर्वाधार विकासले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।


