कांग्रेस कञ्चनपुरको चुनावी तयारी: ५ सय १ सदस्यीय प्रचार-प्रसार टोली, माघ १५ भित्र वडा-वडामा सम्पर्क कार्यालय

प्रकाशित मिति:

महेन्द्रनगर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कञ्चनपुरले संगठनिक गतिविधि तथा प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरेको छ ।

कांग्रेसले ५ सय १ सदस्यीय प्रचार–प्रसार समिति गठन गर्ने, माघ १५ गतेभित्र जिल्लाका सम्पूर्ण वडामा सम्पर्क कार्यालय स्थापना गर्ने तथा वडा समितिको बैठकमार्फत मतदातालाई कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्ने निर्णय गरेको हो ।

जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा बिहीबार बसेको बैठकले जिल्ला उपसभापति मीनबहादुर सिंहको संयोजकत्वमा प्रचार–प्रसार समिति र जिल्ला सचिव भीमराज भट्टको संयोजकत्वमा सचिवालय स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरू लगायतको सहभागिता रहेको थियो ।

बैठकका निर्णयबारे जानकारी दिँदै जिल्ला सचिव भट्टले संगठनलाई वडास्तरसम्म सक्रिय बनाउँदै चुनावी अभियान सशक्त रूपमा अघि बढाइने बताए ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा गोपी उपाध्याय, क्षेत्र नम्बर २ मा एनपी साउद र क्षेत्र नम्बर ३ मा हरी बोहरा उम्मेदवार रहेका छन् ।

ताजा समाचार