कञ्चनपुर-३ मा कांग्रेसको चुनावी होमवर्क तीव्र

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगर समितिले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार हरि बोहरा सहित कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका वडा सभापतिसँग छलफल गरेको छ ।

आज सम्पन्न छलफल कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ का ३० वडामध्ये भीमदत्त नगरपालिकाका १९ वटा वडा तथा बेदकोट नगरपालिकाको वडा नम्बर ८ का वडा सभापतिहरूको सहभागिता रहेको थियो।

छलफलमा वडास्तरमा सम्पर्क कार्यालय स्थापना, चुनावी प्रचार–प्रसारको रणनीति तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर चर्चा गरिएको नेपाली कांग्रेस भीमदत्त नगर समितिका कार्यवाहक सभापति सुशील भट्टले जानकारी दिए।

यस्तै, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ ले आगामी मंगलबार भीमदत्त नगरपालिका–०५ बनगाउँमा पूर्वमन्त्री रमेश लेखकको उपस्थितिमा सचिवालय स्थापना गर्ने तयारी समेत रहेको बताइएको छ ।

नगर तथा क्षेत्रीय समितिले आगामी दिनमा वडास्तरमै संगठनलाई सक्रिय बनाउँदै कांग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानलाई तीव्र बनाउने जनाएको छ ।

छलफलमा उम्मेद्वार बोहरा, क्षेत्रीय सभापति, प्रदेश सभा सभापती, नगर कार्यसमिती, वडा सभापती लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार