महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलको २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ । बुधबार आयोजित समारोहमा विद्यार्थीका विविध सांस्कृतिक तथा सृजनात्मक प्रस्तुति मुख्य आकर्षण बनेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष यज्ञराज भट्ट सहभागी रहेका थिए । समारोहको उद्घाटनपछि विद्यार्थीहरूले नृत्य, गायन, नाटक, कवितावाचन तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुतिहरूले विद्यार्थीहरूको प्रतिभा, अनुशासन र आत्मविश्वास झल्काएको थियो । कार्यक्रममा अध्यक्ष बस्नेतले विद्यालयले गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको उल्लेख गरे ।
प्रमुख अतिथि भट्टले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापले सिकाइलाई प्रभावकारी बनाउने बताउँदै विद्यार्थीका प्रस्तुति प्रशंसनीय रहेको बताए । प्रधानाध्यापक राजेन्द्र भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरू, शिक्षक, समाजसेवी लगाएतका व्यक्तित्वलाई सम्मान एवम् पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।


