विपन्न दलितका लागि २६ घर निर्माण सुरु

प्रकाशित मिति:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१३ सोनापुरमा विपन्न दलित तथा आर्थिक रूपमा कमजोर परिवारका लागि २६ वटा आवासीय घर निर्माण कार्य सुरु गरिएको छ । नगरपालिका तथा वडा कार्यालयले नमुना बस्तीका रूपमा विकास गर्न थालेको उक्त क्षेत्रमा छिमेक समाज सेवा संस्था र भीमदत्त नगरपालिकाको सहकार्यमा घर निर्माण गर्न लागिएको हो ।

शुक्रवार नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले औपचारिक रुपमा शिलान्यास गरेका हुन् । नगर प्रमुख पदम बोगटीले विपन्न तथा दलित समुदायका परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्यसहित घर निर्माण गर्न लागिएको बताए ।

छिमेक संस्थासंगको सहकार्यमा घर निर्माण हुन लागेको जानकारी दिदैँ निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न भएर घर प्रवेश होस् भन्ने कामना व्यक्त गरे । वडाध्यक्ष राम बहादुर बोहोराले एक लाखको बजेटमा शुरुवात गरेको नमुना बस्ती निर्माणको कायको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखले लिनुभएको छ यो मेरो सौभाग्य भएको भन्दैँ सो बस्ती निर्माणमा श्रमदानका लागि सम्पूर्णमा आह्वान गरे । घर निर्माण कार्य सुरु भएसँगै स्थानीय बासिन्दामा उत्साह छाएको छ ।

वर्षौंदेखि असुरक्षित र कमजोर संरचनामा बस्दै आएका परिवारहरू अब सुरक्षित र व्यवस्थित घरमा बस्न पाउने आशामा खुशी व्यक्त गर्दै नगरप्रमुखसहित सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रम नगरप्रमुख बोटी प्रमुख प्रशासकीय अधिकृत बम, वडाध्यक्ष बोहोरा, भीमदत्त नगरपालिका–१६ का वडाध्यक्ष केशव विष्ट, छिमेक संस्थाका कार्यक्रम संयोजक एलबी कार्की, वडा सदस्यहरु लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार