महेन्द्रनगर । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ एन नेपालको प्रथम भाइस डिष्ट्रीक गभर्नर पदका लागि पीएमजेएफ लायन डा. नेत्रराज चटौतले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
विहीबार लायन्स क्लव अफ महाकाली महेन्द्रनगरको आयोजना तथा कञ्चनपुरका सम्पूर्ण लायन्स तथा लियो क्लबहरूको समर्थनमा एक विशेष कार्यक्रमका बीच उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
हाल दोस्रो भाइस डिष्ट्रीक गभर्नरमा को जिम्मेवारी सम्हालिरहेका चटौतले आफ्नो उम्मेदवारीसँगै लायन्स अभियानलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा उपस्थित विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधिहरूले चटौतको नेतृत्व क्षमता, अनुभव र समाजसेवाप्रतिको समर्पणको प्रशंसा गर्दै उनलाई आगामी नेतृत्वका लागि उपयुक्त व्यक्तित्वका रूपमा समर्थन जनाएका छन् । उनीहरूले एकजुट भएर चटौतलाई १०० प्रतिशत समर्थन भोट प्रदान गरि विजयी बनाउन सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रम लायन्स क्लव अफ महाकाली महेन्द्रनगरका अध्यक्ष लियो-लायन भाष्कर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा कञ्चनपुरका सम्पूर्ण लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अवसरमा नयाँ सदस्य लियो-लायन यज्ञ सिंह ऐरलाई क्लवमा स्वागत समेत गरिएको छ । लायन्स क्लब विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था मानिन्छ, जसले मानव सेवा, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा काठमाडौंका केही क्लबहरू समेटिएको डिष्ट्रीक ३२५ एन नेपालमा चटौतको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ । कार्यक्रमले आगामी नेतृत्वका लागि नयाँ ऊर्जा र उत्साह थप्दै, लायन्स अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।


