सिंचाईको पानी निकास नहुँदा खेती योग्य जमीन बाँझै 

कञ्चनपुर/माघ २७ कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं ५ झिलमिलामा सिंचाई पानी निकास नहुँदा अधिकांश खेती योग्य जमीन बाँझै रहेको छ।

बेल्डाँडी गाउँपालिका वडा नं ५ झिलमिलामा महाकाली सिंचाई पानी र चौधारा नदीको पानी निकास नहुँदा पाँच सय बिघा भन्दा बढि खेती योग्य जमीन बाँझै रहन पुगेको हो ।

महाकाली सिंचाईको लापरवाहीका कारण नहरको पानि र चौधरा नदीको पानीको उचित व्यवस्थापन गर्न नसक्दा, नहर मर्मत नहुँदा पाँच सय बिघा भन्दा बढि खेतीयोग्य जमिनमामा अधिक पानीले गर्दा किसानको खेतबारीमा उब्जनीमा ह्रास आएको स्थानिय किसान आरती नर्सरीका प्रोप्राइटर खड्क थापाले बताएका छन् ।

उनका अनुसार,उक्त झीलमिला क्षेत्रमा २७/२८ वर्ष अगाडि खेती उब्जनी राम्रै हुन्थियो,प्रसस्त मात्रामा अन्न फलाइन्थियो तर २०५२ साल देखि यता यहाँ महाकाली सिंचाई नहर निर्माण भए पछि नहरको उचित मर्मत नहुँदा नहरको भूभाग उचाइमा र त्यस क्षेत्रको जमिनको भूभाग गहिराइमा परेपछि महाकाली सिंचाईको पानी र चौधरा नदीको पानी त्यही खेतमा बहने हुँदा उक्त क्षेत्रको जमीनमा पानी निकास नभए पछि खेत बाँझै रहने स्थिति सिर्जना भयो हो । 

उनले भने,” त्यस क्षेत्रका लगभग तीन सय वटा घरधुरीका किसानहरूका करीब पाँच सय बिघा भन्दा बढि खेतमा अन्नबाली,रोपाइँ हुन नसक्दा खेत बाँझै छ, राखिएको बीउ रोप्न नपाउँदा पहेँलो भएर कुहिएर काम नलाग्ने हुन्छ, पाँच सय बिघा भन्दा बढि खेत पोखरी जस्तै चौबिसै घण्टा पानी बहने भएकाले अहिले जमीनमा आफै पनि पानीका मुल फुटेर जमीन नै पानीले डम्म भरिएका छन्। 

यसैले उक्त क्षेत्रमा बर्खायाममा धान नहुने र चैते धान मात्र खेतमा हातले खनजोत गरेर अलि अलि धान लगाउने गरेको छ,जसमा आफ्नो पनि दुई बिघा खेतमा पनि खेती उब्जनी गर्न नसक्दा खेत बाँझै रहेको हुनाले उक्त समस्यालाई मध्यनजर गर्दै विकल्पको रुपमा केही हिस्सा जमीनमा माछा पोखरी बनाए, तर त्यसमा पनि नहरको पानी मिसावट भएर  माछा सबै सख्खाव भएर आफूले लगभग १२ लाखको नोक्सान बेहोर्नु पर्यो, त्यसपछि  उक्त जमीनमा २०७४ साल यता त्यस पोखरीमा माछा नहालेर पोखरी नै रित्तो राख्नु परेको गुनासो व्यक्त गरेका छन्।”

 थापाले भने,”उक्त क्षेत्रमा एक पटक २०६४ साल तिर नहरको पानी सुक्दा खेती उब्जनी राम्रै भएको थियो तर फेरि नहरको पानी आयो अझ खेतको उस्तै हालत भयो । यहाँको खेतमा अहिले नर्कट र पटेरो बाहेक अरु केही अन्न उब्जनी नभएको बताए ।”

 उनले, महाकाली सिंचाईका पूर्व अध्यक्ष भीमबहादुर थापाको कार्यकालमा राम्रो काम गरेको बताए । सिंचाईका पूर्व अध्यक्षले खेतमा गन्धा नालीमा पानी निकासको काम गरेर केही भूभाग सुधार भएर  खेती उब्जनी हुन थालेको छ । त्यसैले अझै पानीको निकास गर्न शिवमन्दिर देखि कालिका स्कूल सम्मको बेलौरी जाने मूल नहर मर्मत गरी पक्की बनाउन महाकाली सिंचाई र स्थानिय सरकारले ध्यानाकर्षण गर्न आग्रह समेत गरेका छन्।

यसैगरी बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले उक्त क्षेत्रमा महाकाली सिंचाई नहरको पानीले खेती योग्य जमिन बाँझै भएर किसान पीडित भएको बताउँदै यसको समाधानका लागि नहर मर्मत गर्न पालिकाको बजेटबाट नहुने भएकाले महाकाली सिंचाईसंग छलफल गर्दा त्यहाँ नी बजेट नभएको बताए र आफूले यस समस्यालाई केन्द्रमा गएर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

महाकाली सिंचाईका अध्यक्ष गोपाल कुँवरले उक्त जमीनमा महाकाली सिचाईको पानीले खास्सै असर नगरेको र चौधरा नदीको पानीले बढी असर गरेको बताए । उनले भने,”उक्त क्षेत्रको जमीनबाट आफै पानीका मुहान फुटेर पानी निस्किने गरेको छ र जमीन बाँझै रहेको छ त्यसैले  हामीले गर्नु पर्ने काममा हामीले महाकाली सिंचाई नहर पक्की  बनाउनका निमित्त आफ्नो विभागबाट नहरको समस्या समाधानको लागि सक्दो पहल गरेको बताएका छन्।

उक्त क्षेत्रको जमीन होचो र नहर उच्चा भूभागमा भएको कारणले नहरको पानी सबै खेतमा बहने भएकाले त्यहाँको उर्वरा भूमी विहिन भएको गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्काले बताएका छन्। उनका अनुसार, २०५२ साल यता झिलमिलाको उक्त क्षेत्रमा महाकाली सिंचाई नहरको पानी बग्ने नहर सञ्चालनमा ल्याएपछि नहरको उचित मर्मत नहुँदा यो समस्या सिर्जना भएको हो,र यस समस्यालाई मध्यनजर गर्दै आफूले वडाबाट पहिलो प्राथमिकतामा राखेर उक्त समस्याको समाधानको काम गर्ने बताएका छन् ।

स्थानियहरुले पनि आफ्नो उर्वरा भूमिमा महाकाली सिंचाईको लापरवाहीले पानीको ढल बगाएर भूमीलाई झाडी खोला जस्तो बनायो भन्दै यसमा कुनै पनि निकायले ध्यानाकार्षण नगरेको र वर्षै देखिको पानीको समस्या हामीले कहिले सम्म झेल्ने? हामीलाई  न्याय कसले दिन्छ? हाम्रो क्षेतिपूर्ती कसले बेहोर्छ ? कुन निकाएमा गएर समस्या समाधान हुन्छ भनेर स्थानीयहरुको गुनासो रहेको छ।

ताजा समाचार