महेन्द्रनगर । भनिन्छ– प्रतीक्षाको फल मिठो हुन्छ । फल मिठो बनाउन परिश्रम, लगन र धैर्यको पनि उत्तिकै खाँचो हुन्छ । धैर्य र लगनले सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेका छन् सोमवार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएका मेघराज खड्का ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङग्रामा २०२२ सालमा जन्मिएका खड्काले २०३७ सालमा नेपाल विद्यार्थी संघका आवद्ध भएर आफ्नो राजनितिक यात्रा शुरु गरे ।
यस अघि २०३६ सालको जनमत संग्रह, बहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा समेत उनि प्रत्यक्ष संलग्न भएका थिए । ४० वर्ष बढीको राजनितिक इतिहास बोकेका मन्त्री खड्का देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा पटक–पटक जेल चलान भए ।
२०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र २०४२ सालमा स्ववियु सभापति भएर काम गरेका खड्कालाई निर्दलीय पञ्चायत विरुद्धको आन्दोलमा २०४२ सालमा ४ महिनाभन्दा बढी कारागारमा नजरबन्दमा राखियोे ।
२०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछाम प्रहरी हिरासतमा १६ दिन बिताए । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा र २०६२/०६३ को जनआन्दोलनमा पटक–पटक जेलनेल भोगेका खड्काले त्यसबाट विचलित नभएर निरन्तर देश र जनताका पक्षमा काम गरे ।
२०४८ सालमा नेपाली कांग्रेस अछामको सदस्य भएका खड्का कांग्रेसको ९औँ महाधिवेशन देखि १४ औँ महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य, २०५४ सालमा जिल्ला विकास समिति अछामको सदस्य, २०६३ मा नेपाली कांग्रेस अछामको सभापति र १४ औँ महाधिवेशनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको महामन्त्रीमा निर्वाचित भए ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उनि अछाम निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । यसअघि खड्का २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेका भीम रावलसंग पराजित भए ।
त्यसपछि २०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट चुनाव लडेका खड्का एमालेका हर्क बहादुर कुवँरसंग झिनो मतले पराजित भए । पटक–पटक पराजित भएका खड्काले हार मानेनन्, धैर्य भएर अछामी जनताको पक्षमा काम गर्दै आए ।
जनतामाझ इमान्दार र स्वच्छ छवि बनाएका खड्काको पटक–पटकको पराजय पश्चातको धैर्य र लगनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा भारी मत ल्याएर विजयी हासिल गरे । प्रदेश सभा सदस्य निर्वाचित भएपछि खड्कालाई मुख्यमन्त्री वा मन्त्री हुन सक्ने अनुमान गरिएको थियो ।
यद्यपी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको पहिलो सरकारको मन्त्रीमण्डलमा जान नखोजेका खड्का सोमवार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाहाकै नेतृत्वको सरकारको मन्त्रीमण्डलमा सामाजिक विकास मन्त्री नियुक्त भएका छन् ।
थुप्रै नेता कार्यकर्ताका लागि पटक–पटक पराजित हुदाँ समेत धैर्य र लगनशिलताले सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेका मन्त्री खड्काले अब कसरी ? जनता संग प्रत्यक्ष जोडिएको सामाजिक विकास मन्त्रालयलाई हाक्छन भन्ने हेर्न बाँकी छ ।