महेन्द्रनगर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीको बगर कटानले जर्जर भइसकेको थियो। जमिन कटान गरी नदी बस्ती छेउ पुगेपछि बर्खामा स्थानीयबासी त्रासै त्रासमा रात बिताउन बाध्य थिए।
जब स्थानीयले चरिचरन निषेध गरे त्यसपछि बगर क्षेत्र विस्तारै हराभरा हुन थाल्यो। स्थानीयले बगरमा तारबार लगाए। त्यसपछि केही बिरुवा पनि रोपे। खयर, सिसौं, सिमललगायतका बिरुवा आफैं उम्रिए। अहिले स्याली किनारको ५ हेक्टर बगर घना वन भएको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त बगरमा स्थानीयले ४ वर्षअघि ५ सय सिसौं, २ हजार खयर र २५० बाँसका बिरुवा रोपेर संरक्षणको सुरुवात गरे।
कञ्चनपुरको शुक्लाफाँटा–६ मा पर्ने उक्त क्षेत्रमा चरिचरन रोकिएपछि रोपे भन्दा बढी विरुवा आफैं उम्रिए। अहिले घना वन भएर एक्लै जान पनि डर लाग्दो छ।‘बगर संरक्षण नगरेको भए अहिलेसम्म स्यालीले बस्ती बगाइसक्ने थियो,’ शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सुनदेवी उपभोक्ता समितिका सचिवले भने, ‘बगर संरक्षणले एकातिर कटान रोकियो, अर्कोतर्फ घाँस दाउराका लागि पनि सजिलो भयो।’
उक्त क्षेत्रमा वडा कार्यालय र तराई भूपरिधि कार्यक्रमले बगर संरक्षणसंँगै वृक्षरोपणमा सहयोग गरेको हो। स्थानीयले लालमणि रानाको संयोजकत्वमा संरक्षण समिति पनि बनाएका छन्। उक्त समितिले बगरको हेरचाहसँगै व्यवस्थापनको काम गरिरहेको छ।
कृष्णपुर नगरपालिका ४ मा पर्ने समैजी सामुदायिक वनको ठूलो क्षेत्र मछेली नदीको कटानका कारण बगर बनेको थियो। घना वन हेर्दा हेर्दै बगर बन्यो। तर अहिले उक्त बगर फेरि हराभरा वन बनेको छ।
‘यति चाँडै वन यस्तो होला भन्ने सोचेका थिएनौं,’ लालझाडी मोहना संरक्षित क्षेत्रअन्तर्गतका सामुदायिक वनहरूको समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘स्थानीय उपभोक्ताका निकै मिहिनेतले एक दशकमै हराभरा वन भयो।’
पन्तका अनुसार समैजी सामुदायिक वनको उत्तरतिर मछेली खोलाले धेरै वन कटान गरेको थियो। स्थानीयले उक्त क्षेत्रमा चरिचरण निषेध गरे। त्यसपछि बिरुवा पुर्नउत्पादन हुन थाल्यो। बिरुवा उम्रिएसँगै नदीको कटान पनि रोकियो। समैजी सामुदायिक वनले बगर संरक्षण मात्रै गरेर उक्त क्षेत्रमा वन्यजन्तुका लागि १२ हेक्टर जमिनमा घाँसे मैदानपनि संरक्षण गरेका छन्।
समैजीसँगै जोडिएको ग्वासी समैजी सामुदायिक वनले पनि १५ हेक्टर जमिन घाँसे मैदानका रूपमा संरक्षण गरेको छ। घाँसे मैदान संरक्षणपछि दुवै सामुदायिक वनमा वन्यजन्तुको विचरण पनि बढेको छ।
हात्ती, बाघ, नीलगाई, चित्तल र बाह्रसिंगालगायतका वन्यजन्तु उक्त क्षेत्रमा पुग्न थालेको अध्यक्ष पन्त बताउँछन। लालझाडी मोहना संरक्षित क्षेत्र वन्यजन्तुको मुख्य करिडोर हो।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु लालझाडी हुँदै चुरे फेदीबाट शुक्लाफाँटासम्म पुग्छन। शुक्लाफाँटाबाट पुन लालझाडी हुँदै फेरी दुधुवा फर्किन्छन। लालझाडी संरक्षित क्षेत्रसँगै जोडिएको सामुदायिक वनहरूले संरक्षण थालेपछि वन्यजन्तु उक्त क्षेत्रमा पनि रोकिन थालेको अध्यक्ष पन्त बताउँछन।
स्थानीय तहहरूले नदी नालाबाट निर्माण सामग्री उत्खननका लागि ठेक्का दिने गरेका छन्। तर त्यसपछि नियमित अनुगमन नहुँदा नदीनालाको अनियन्त्रित दोहन हुन्छ। जसको प्रत्यक्ष प्रभाव वन र चुरे क्षेत्रमा परिरहेको छ।
महाकालीपछि सबैभन्दा बढी निर्माण सामग्री उत्खनन् हुने नदीमध्ये मछेली पनि पर्छ। त्यसकै प्रभाव समैजी सामुदायिक वनमा पनि परेको हो।
‘संरक्षण नगरेको भए समैजी वन पूरै बगर भइसक्थ्यो, बस्ती पनि जोगाउन गाह्रो हुन्थ्यो,’ अध्यक्ष पन्तले भने, ‘लालझाडी संरक्षित क्षेत्रका सामुदायिक वनमध्ये समैजी संरक्षणमै नमुना बनेको छ।’
उनका अनुसार लालझाडी संरक्षित क्षेत्रसँग ९१ सामुदायिक वन जोडिएका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका ११ डोके बजार दुधुवादेखि लालझाडी जोड्ने करिडोरको मुख्य विन्दु हो।
तर उक्त क्षेत्रमा जथाभावी भएको अतिक्रमण र बस्ती विकासले करिडोर अवरुद्ध भएको छ। तर मोहना नदी किनारको गंगाजमुना सामुदायिक वन पनि स्थानीयले संरक्षण गरेको अर्को नमुना हो।
१९ हेक्टरमा रहेको यो वन पनि केही वर्षअघिसम्म बगर नै थियो। स्थानीयले संरक्षण थालेपछि अहिले यो निकै घना वन भएको छ।
‘करिडोर अवरोध तोड्न डोकेबजारको अतिक्रमण हटाउनुका साथै लालझाडीलाई दुधुवासँगै जोडनुपर्ने देखिन्छ,’ लालझाडीसँगै जोडिएको कुण्डा सबडिभिजन वन कार्यालय पचगडियाका सहायक वन अधिृकत दिनेश यादवले भने, ‘स्थानीयको पहलमा केही संरक्षणका सकारात्मक काम भएका छन्, यसलाई निरन्तरता दिन सके मात्रै करिडोर संरक्षण हुन सक्छ।’