चितवनमा ७ वर्षअघि भएको एक हत्या घटनाका फरार प्रतिवादीलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त प्रहरी टोलीले बाराको फेटा गाउँपालिकाबाट प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा साविक बतरा गा.वि.स. वडा नं. ६ (हाल फेटा गाउँपालिका वडा नं. ४) बस्ने वर्ष ३७ (घटना हुँदा ३० वर्ष) का पुनदेव भन्ने पञ्चदेव महरा रहेका छन्।
प्रहरीका अनुसार वि.सं. २०७६ साल चैत २३ गते साँझ चितवनको खैरहनी नगरपालिका वडा नं. ९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर बस्ने कच्ची घरमा एकजनाको शव फेला परेको थियो। मृतक बारा साविक फेटा गा.वि.स. वडा नं. ४ (हाल फेटा गाउँपालिका वडा नं. ३) का ४६ वर्षीय सखिचन महरा थिए।
अनुसन्धानका क्रममा सखिचनको हत्या पञ्चदेव महराले नै कर्तव्य गरी गरेको खुलेको थियो। घटनालगत्तै फरार भएका महरालाई पक्राउ गर्न चितवन जिल्ला अदालतले २०७६ चैत २५ गते नै अनुमति दिएको थियो।
फरार रहेका महरा बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिवेणी टोल र वरपरका गाउँहरूमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा चितवनबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उनलाई गुड्दो जेठ ५ गते बेलुका अन्दाजी ७:४० बजे त्रिवेणी टोलबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महरालाई जेठ ६ गते चितवन जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय खैरहनीको न्यायिक हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।




