सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउनेबारे नेपाली कांग्रेस इतर समूहको पाँचबुँदे प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीन दिने भेला तथा सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। भेलापश्चात् सार्वजनिक गरिएको पाँचबुँदे प्रस्तावमा देशको परम्परागत धर्म तथा संस्कृतिको संरक्षणलाई प्राथमिकताका साथ समेटिएको छ।

पारित प्रस्तावको तेस्रो बुँदामा नेपालमा परापूर्वकालदेखि चलिआएको धर्म र संस्कृति नै मुलुकको मूल राष्ट्रिय पहिचान भएको उल्लेख छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव एवं प्रत्येक व्यक्ति र समुदायको धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्दै हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राखेर सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाइएको हो।

समारोहको समापन सत्रमा केही नेताहरूले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई हिन्दू राष्ट्रको विषयमा स्पष्ट धारणा राख्न आग्रह गरेका थिए। जवाफमा पूर्वसभापति देउवाले आफू हिन्दू भएको पटक-पटक दोहोर्‍याए पनि हिन्दू राष्ट्रको पक्षमा भने खुलेर मत राखेनन्। भेलाले प्रत्यक्ष रूपमा हिन्दू राष्ट्रको माग नगरे पनि सनातन धर्मको संरक्षणको मुद्दा उठाएर मध्यमार्गी बाटो अवलम्बन गरेको देखिन्छ।

यसैगरी, सम्मेलनले वर्तमान संविधानमा जनताको भावना र अपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानभित्रकै व्यवस्था अनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने प्रस्तावसमेत पारित गरेको छ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका विभिन्न सुझाव र प्रस्तावहरूलाई समेटेर अन्तिम रूप दिई लिखित दस्तावेज तयार पार्न केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा एक समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सिता राना सदस्य रहेका छन् भने सहयोगीका रूपमा केन्द्रीय सदस्यहरू मीनवहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेललाई तोकिएको छ।

ताजा समाचार