काठमाडौँ । नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालेन शाहलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।
बैठकमा बोल्दै सांसद राईले पासपोर्ट खरिदका सम्बन्धमा सार्वजनिक भएका विषयमा स्पष्टताका लागि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताए। ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ,’ उनले भने।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छानबिन आयोग गठन गरेको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए।
संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सात घण्टासम्म केरकार गरिएको विषयमा प्रश्न उठेको उल्लेख गर्दै उनले सरकारमाथि निगरानी र सन्तुलन कायम राख्ने निकायमाथि भएको भनिएको सो कार्यबारे प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने माग गरे।




