फर्जी प्रमाणपत्र पेस गर्ने १४ विदेशी चिकित्सकको दर्ता स्थगित, कलेजहरूसँग स्पष्टीकरण माग

प्रकाशित मिति:

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपालमा काम गर्न तथा मेडिकल कलेजमा फ्याकल्टीका रूपमा नियुक्त हुन आएका १४ जना विदेशी चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। ती चिकित्सकले पेस गरेका ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’मध्ये केही प्रमाणपत्र भारतीय नियामक निकायबाट जारी नै नभएको पुष्टि भएपछि काउन्सिलले दर्ता प्रक्रिया रोकेको हो।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार नयाँ फ्याकल्टीका रूपमा आएका चिकित्सकको कागजात शंकास्पद देखिएपछि भारतीय निकायसँग गोप्य रूपमा जानकारी मागिएको थियो। भारतमा चिकित्सकका रूपमा दर्ता भए पनि नेपालमा काम गर्न आवश्यक पर्ने छुट्टै प्रमाणपत्र फर्जी बनाइएको जवाफ आएपछि काउन्सिलले दर्ता रोकेको हो।

घटनापछि काउन्सिलले कागजातको आधिकारिकता यकिन नगरी सिफारिस गर्ने सम्बन्धित मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूसँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ। साथै, नेपालमा कार्यरत करिब ५०० जना विदेशी चिकित्सकको दर्ता र कार्यस्थिति अनुसन्धान गर्न डा. छवि पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षातर्फ एमबीबीएस तथा एमडी/एमएसको सिट बढाउन अनुगमनका बेला विदेशी चिकित्सकलाई ‘खडेबाबा’का रूपमा देखाउने र पछि फर्काउने गरेको आशंकासमेत काउन्सिलले गरेको छ। यस विषयमा चिकित्सा शिक्षा आयोगलाई समेत जानकारी गराइसकिएको छ।

ताजा समाचार