नागढुङ्गा सुरुङमार्गमा निजी साना सवारी साधन सञ्चालन सुरु, बिहान ९ देखि साँझ ६ बजेसम्म जान पाइने

प्रकाशित मिति:

उद्घाटन भएको करिब एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा आएको छ। यसअघि आपत्कालीन सेवाका सवारी साधनलाई मात्र परीक्षणका रूपमा प्रयोग गर्न दिइएको यो सुरुङमार्गमा सोमबारदेखि कार, जिप र भ्यान जस्ता ९ सिटसम्म क्षमता भएका साना निजी सवारी साधनले काठमाडौँ-धादिङ आवतजावत गर्न अनुमति पाएका छन्।

नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार सोमबार बिहान ९ बजेदेखि एम्बुलेन्स, इमर्जेन्सी र सरकारी प्लेटका सवारीसहित साना निजी गाडीका लागि आवागमन खुला गरिएको हो। परीक्षण स्वरूप निश्चित समयका लागि सञ्चालनमा ल्याइएको र चालकहरूको अनुभव तथा समस्या विश्लेषणपछि अन्य सवारीलाई पनि क्रमशः अनुमति दिने तयारी रहेको छ। हाललाई यो सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि खुला गरिएको छ। परीक्षणकालमा हाल निजी सवारी साधनका लागि कुनै शुल्क लाग्ने छैन।

सुरुङभित्र सवारी साधन चलाउँदा अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ। साथै, हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, गाडी टनेलभित्र रोक्न नपाइने र ओभरटेक गर्न नपाइने नियम निर्धारण गरिएको छ। सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरी नियमित सञ्चालनको आन्तरिक तयारी भइरहेको छ। करिब २९ अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्ग २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

त्यसपछि मुख्य टनेलको ब्रेक थ्रु २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए। जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्मित यस आयोजनाको गत साउन ११ गते नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले उद्घाटन गरेका थिए।

ताजा समाचार