चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

प्रकाशित मिति:
spot_img

काठमाडौं । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। सम्भावित चोरी, लुटपाट, जुवातास, मदिरा सेवनबाट हुने झैझगडा तथा पटकाजन्य गतिविधि नियन्त्रण गर्न देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ। यो सुरक्षा योजना छठको भोलिपल्टसम्म लागू रहनेछ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो। सुरक्षा निगरानीका लागि ५० भन्दा बढी ड्रोन, सीसीटीभी, बडी वार्न क्यामेरा र तालिमप्राप्त कुकुर परिचालन गरिनेछ। विभिन्न स्थानमा गस्ती, चेकप्वाइन्ट, कमान्ड पोस्ट र आकस्मिक जाँचको प्रबन्ध मिलाइएको छ।

पटका, भुइँचम्पाजस्ता प्रज्ज्वलनशील सामग्रीको आयात तथा बिक्रीवितरण नियन्त्रण गर्न सीमा र भन्सार नाकामा कडा निगरानी गरिएको छ। यस्तै, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र खाद्यवस्तुमा मिसावट रोक्न संयुक्त बजार अनुगमन तीव्र पारिएको छ। लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य गरिएको छ भने देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र सीमावर्ती क्षेत्रमा १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। घर छाडेर जाने नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र कुनै शङ्कास्पद घटना भएमा १०० नम्बरमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

spot_img

ताजा समाचार