कञ्चनपुरमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने, पटका र प्लास्टिकका मालामा पूर्ण रोक

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तिहार, नेपाल संवत् तथा छठपर्वलाई सुरक्षित र मर्यादित बनाउन देउसीभैलो बिहान ७:०० बजेदेखि बेलुकी १०:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। प्रशासनले सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी तोकिएको समयसीमाभित्र मात्र सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो।

यसैगरी, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्न–खेलाउन तथा भुइँचम्पा, पटका र आतिसबाजीजस्ता प्रज्ज्वलनशील एवं विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोगमा पूर्ण रोक लगाइएको छ।

प्रशासनले मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न, अखाद्य रङ मिसाइएका गुणस्तरहीन मिठाई तथा अस्वस्थकर खाद्यवस्तु बिक्री नगर्नसमेत सचेत गराएको छ। साथै, म्याद गुज्रेका भाइमसला तथा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा जारी सूचनामा उल्लेख छ। सूचनाको अवज्ञा गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

spot_img

ताजा समाचार