बझाङमा सामाजिक सुरक्षा भत्ता चोरीः वडासचिव र प्राविधिक सहायक बिरुद्ध मुद्धा

बझाङ । बझाङको बुंगल नगरपालिकामा लाभग्राहीलाई वितरण गर्न भनेर लगिएको सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको घटनामा वडासचिव र प्राविधिक सहायकको नाममा मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा बिहीबार सोधपुछका लागि प्रहरी नियन्त्रणमा लिइएका वडासचिव ओपिन्द्र महतो र सोही वडामा कार्यरत प्राविधिक सहायक खड्कबहादुर सिंहलाई हिरासतमा राखेर छानबिन सुरु गरिएको हो ।

बुंगल–११ का वडाध्यक्ष रामबहादुर बोहराले विश्वासघात गरेर आपराधिक लाभ लिएको भन्दै सचिव महतो र प्राविधिक सहायक सिंहको नाममा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । बुंगल–९ र ११ का बासिन्दालाई वितरण गर्न लगिएको सामाजिक सुरक्षा भत्ताबापतको ३९ लाख रकम वडासचिव महतोको कोठाबाट बुधबार राति गायब भएको थियो । वडा ११ कै सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका महतोले सामाजिक सुरक्षा भत्ताको रकम आफू बस्ने कोठामा राखेको र त्यहींबाट चोरी भएको बताएका थिए ।

सचिव महतोले आफू कोठाभन्दा करिब ६० मिटर टाढा रहेको वडा कार्यालयमा इन्टरनेट चलाउन गएको बेला पैसा चोरी भएको बताउँदै आएका थिए । चोरी भएको भनिए पनि कोठामा तोडफोड नभएको पैसा राखेर ताला लगाइएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शंकास्पद रहेको स्थानीय र प्रहरीको आशंका थियो ।

ताजा समाचार