कञ्चनपुरमा दोदा नदीको बाढीले उखु र धान बालीमा क्षति‚ जोखिममा ३५ परिवार

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान गर्दा उखु र धानबाली क्षति पुगेको छ। कटानलाई रोक्न तत्काल तटबन्धन नगरे बस्ती नै जोखिममा पर्ने स्थानीय मंगलप्रसाद चौधरीले बताए।

‘दुई दिनमा नदीले कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बगाएर लगेको छ,’ उनले भने, ‘कटान रोक्न पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ।’

उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ। दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पु¥याएको छ।

यस क्षेत्रमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरिएको थियो। नदीको धार परिवर्तन गरी तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटानी अधिक हुन थालेको स्थानीय रामदास रानाले बताए।

‘विपद् व्यवस्थापन समितिमा आवद्ध समुदायका व्यक्तिहरुले संरक्षण गरेको बगर बगेको छ,’ उनले भने, ‘संरक्षण गरेको बगरमा नदी बग्न थालेको छ। नदीले कटान गरी उखु र धान खेती गरेको उब्जाउ जग्गा समेत बगाउन थालेको छ।’

नदीले उब्जाउ जग्गा कटानी गर्न थालेपछि चिन्तित भएको उनले बताए। नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्तीनै बग्ने खतरा बढेको छ। बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा रहेको उनले बताए।

तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माणको अगाडि नबढाइएको स्थानीयको गुनासो छ।

‘बर्षात हुने दिन अझै बाँकी नै छ,’ स्थानीय बालसुग्रिब रानाले भने, ‘खेती गरेको जग्गा नदीले कटानी गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नु पर्ने बाध्या त छ नै नदी नियन्त्रणका लागि पहल नभए बस्तीनै विस्थापनमा पर्ने भएको छ। परिवार लगेर कुन ठाउमा गएर बस्ने अर्को पिरलो छ।’

२०६४ सालमा नदीमा आएको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापित भएको थिए।

ताजा समाचार