मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि विक्रीमा

साउन १४, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आईपीओ विक्रीमा रहने कम्पनीले बताएको छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डि इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने संकेत गर्दछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आवेदन दिएको तीन वर्ष ९ महीनामा बल्ल आईपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको छ । उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।

ताजा समाचार