बेलडाँडीमा सहकारीको भवन तोडफोड घटना-सरकारी जग्गा स्थानिय सरकारले दिन पाउदैनः सिडिओ पाण्डे

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको भवन सरकारी जग्गामा बनाइएको भन्दै स्थानियले तोडफोड गरेका छन् ।

सहकारीले सरकारी जग्गामा आफ्नो कार्यालयको भवन निर्माण गरिरहेको भन्दै भदौँ ४ गते स्थानियले उक्त निर्माणधिन भवन तोडफोड गरेका थिए । सरकारी जग्गामा सहकारीको भवन निर्माण गर्न बेलडाँडी गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय भएकोले भवन निर्माण गरिएको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष कमला रेग्मी जोशीले बताइन ।

‘गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त जग्गामा भवन निर्माण गर्न दिइने भनेर निर्णय गरेपछि हामीले भवन निर्माण गरेका हौँ । तर स्थानिय शान्ति नाथ सहितका व्यक्तिले भवन तोडफोड गरेका छन् ।’ उनले अगाडी थपिन् ‘त्यहा रहेको ७२ विघा सरकारी जमिनमा अरुलेपनि भवन र मन्दिर निर्माण गरेका छन् ।’

यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले कानुनअनुसार सरकारी जग्गा स्थानिय सरकारले कसैलाईपनि दिन नपाउने बताएका छन् । ‘स्थानिय सरकारले सरकारी जग्गा कसैलाईपनि दिन पाउदैन ।’ उनले भने ‘सरकारी जग्गा क्याविनेट (मन्त्रिपरिषद्) को निर्णय बाट मात्रै दिन मिल्छ । तर यहाँ अरु स्थानिय तहले पनि सरकारी जग्गा जो कोहीलाई दिइएको पाइएको छ ।’ उनले अगाडी थपे ‘तर कानुन अनुसार यसरी सरकारी जग्गा स्थानिय सरकारले दिन पाउदैँन ।’

उता बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले गाउँपालिको मातहतमा रहेने गरि उक्त जग्गामा सहकारीलाई भवन निर्माण गर्न दिइने निर्णय भएको बताए । ‘सरकारी जग्गा स्थानिय सरकारले दिन पाउँछ पाउदैन भन्दा पनि गाउँपालिकाको कार्यपालिका बैठक बाट गाउँपालिका मातहत रहने गरि सहरकारीलाई भवन निर्माणका लागि उक्त सरकारी जग्गा दिइने भन्ने निर्णय भएको हो ।’

ताजा समाचार