महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको आइसियू (सघन उपचार केन्द्र) सञ्चालनको एक वर्ष पुरा भएको छ । अस्पताल स्थापनाको ५७ वर्ष पछि गत वर्ष भदौँ १५ गते महाकाली प्रादेशिक अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको थियो । अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको मंगलबार एक वर्ष पुरा भएको छ ।
आईसियू सेवा सञ्चालनको एक वर्ष पुरा भएको उपलक्ष्यमा महाकाली प्रादेशिक अस्पतालले एक कार्यक्रमका विच मंगलबार वार्षिक समिक्षा गरेको छ । एक वर्षमा झन्डै ७ सय विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।
महाकाली प्रादेशिक अस्पतालको आइसियू सञ्चालनमा आएको एक वर्षको अवधिमा ६ सय २४ जना विरामीको आइसियूमा राखेर उपचार गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिडेण्ट हरी कुमार श्रेष्ठले बताए ।
‘महाकाली प्रादेशिक अस्पताल पहिले रेफर सेन्टरका रुपमा परिचित थियो, साना साना केसको उपचारका लागि पनि विरामी भारत तथा अन्य सहर जाने अवस्था थियो ।’ उनले भने ‘ तर अहिले अस्पतालमा पहिलेको भन्दा निकै सुधार भएको छ । पहिले आइसियू नहुदाँ धेरै विरामीले ज्यान गुमाउनु पर्ने अवस्था थियो तर अस्पतालमा आईसियू सेवा सञ्चालनमा आएको एक वर्षमा मात्रै २ सय ७८ जना पुरुष र २ सय ५४ जना महिला गरि ६ सय २४ जना विरामीको आईसियूमा राखेर उपचार भएको छ ।’
अस्पतालको तथ्याङक अनुसार एक वर्षको अवधिमा ७० जना श्वासप्रश्वास सम्बन्धि रोगका,१७ जना हृदय रोगका,६६ जना अर्थो सम्बन्धि रोगका, ७३ जना ओबिएस/जिन सम्बन्धि रोगका विामीको आईसियूमा उपचार गरिएको छ ।
त्यस्तै ७६ पोइजिनिङ केस, ४८ सर्पदशंका केस,१९ जि/आई केस,७७ कोभिड–१९ केस, १ सय ४४ भेन्टिलेटर सपोर्ट केस र १ सय ७८ अन्य केसका विरामीको आइसियूमा राखेर उपचार भएको छ ।