महेन्द्रनगर । ‘दशैं आयो, खाउँला पिउला‘’ शुक्रबार दिउँसो भीमदत्त नगरपालिका–९ मटैनास्थित कलबिर राउटेको जस्तापाताले छाएको घरमा पुग्दा रेडियोमा यही गीत बजिरहेको थियो ।
दिउँसोको तीन बजेको छ । सिमसिम पानी परिरहेको छ । कलबिर दम्पती दुई कोठे घरभित्रै थिए । झ्याल र ढोकासमेत नभएको घरको अर्को कोठामा छोरी संगीता निदाइरहेकी थिइन् ।
बाहिर मान्छे आएको थाहा पाएपछि कलबिरकी पत्नी पुुनम रेडियो बन्द गरेर ढोकासम्म आइन् । नमस्कार गर्दै उनले सोधिन्, ‘कहाँबाट आउनुभएको हो ? केही मिल्ने हो की ?’
आफूहरु पत्रकार भएको र समाचार संकलनमा आएको बताएपछि कलबिर दम्पती निराश जस्ता देखिए । उनीहरु आफ्ना वेदनाका पोका फुकाउन थाले । ‘पाँच दिन जति भयो काम नपाएको, भोकभोकै बस्नु परेको,’ पुनम राउटेले भनिन् ।
राउटे दम्पतीका लागि इँटाको गारो र जस्ताको छानो भएको दुई कोठे यो टहरो सरकारले बनाइदिएको हो । यसमा ‘माननीय डाक्टर दीपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट निर्माण गरिएको भवन’ लेखेर बोर्ड राखिएको छ । घर बनेको तीन वर्ष भइसक्यो, तर अहिलेसम्म झ्याल र ढोका भने राखिएको छैन । झ्याल र ढोका राखिदिन अनुुरोध गर्दा ठेकेदारले ‘अर्को वर्ष दिन्छु’ भनेका थिए तर त्यो वर्ष कहिले आउने हो थाहा छैन ।
जस्तापाताले छाएको टहरोमा झ्याल, ढोका, बिजुुली बत्ती नलगाइदिएकोमा कलबिर परिवारको गुुनासो छ नै त्यो भन्दा पनि ठूूलो गुनासो काम नपाउँदामा छ । ‘पाँच सय रुपैयाँमा दैनिक ज्याला गरेर साँझ–बिहान चामल किन्थें । काम नपाएको पनि पाँच दिन भइसक्यो । भोकभोकै रात कटाइरहेका छौं,’ कलबिरले भने ।
दशैं नजिकिदै जाँदा झनै चिन्ता बढेको उनीहरुले सुनाए । ‘हुनेहरु त मासु, भात खान्छन् । नयाँ कपडा लगाउँछन्,’ पुनमले भनिन्, ‘अब हामी केले मासु खाने ? लत्ताकपडा कसरी किन्ने ? कतै मजदुरी पाइए दशैं मनाउने हो, नभए यस्तै छ ।’
कुलबिर राउटेको छेउमै दुर्गादेवी राउटेको घर छ । त्यो घर पनि सांसद दीपक प्रकाश भट्टकै स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको हो । उनको घरमा भने झ्याल, ढोकाका पल्ला लगाइएका छन् । तर दुःख बेदना उस्तै छन् ।
जंगलको बासबाट डडेल्धुराको भित्री मधेश हुँदै करिब १० वर्ष अघि भीमदत्त नगरपालिका बसाइ सरेर आएकी दुर्गा भन्छिन्, ‘साँझ खाए बिहान के खाउँ भन्ने अवस्था छ । हामी जस्ताले के को दशैं मनाउने ?’
सात वर्ष अघि श्रीमान गुमाएकी दुर्गादेवीले एकल भत्ता पाउँछिन् । तर तीन महिना बिते पनि यसपालि भत्ता नआएको उनले सुनाइन् । अघिल्लो वर्ष सात महिना पछि भत्ता पाएको स्मरण गर्दै उनले भनिन्, ‘भत्ता आए पनि पुषतिर आउन्या हो की ।’ यस वर्ष भत्ता नपाए पनि दाउरा बेचेर आएको पैसाले जेनतेन दशैं मनाउने सोचमा छिन् दुर्गा । तर परिवार ठूलो भएकाले त्यसले नभ्याउने चिन्ता अर्कोतिर छ ।
भीमदत्त नगरपालिका–९ को मटैनास्थित नेपाल–भारत सीमा नजिकै बस्दै आएका धनसिंह राउटेलाई पनि यसपालीको दशैं कसरी मनाउने भन्ने चिन्ता छ । खासगरी कोरोना महामारीपछि जारी लकडाउनका कारण दैनिक ज्याला, मजदुरी पनि छुटेकाले अहिलेसम्म काम नपाएको उनले बताए । काम पाएमा छोराछोरीसँगै बसेर दशैं मनाउने सोच बनाएका उनी भन्छन्, ‘यत्तिकै बसिराखे कसरी दशैं मनाउने ? पैसा चाहियो । पैसा कमाउन काम पाउनुपर्यो । तर साहुहरुले काम छैन भन्छन् ।’
विगतमा भारतमा गएर मजदुरी गर्ने गरेका उनी कोरोना महामारीपछि भने घरमै बसिरहेको बताउँछन् । ढुङ्गा फुटाउने, नदीबाट वालुवा निकाल्ने, गिट्टी कुट्ने काम गर्दै आएका उनी उधारोमा राशन किनेर छोराछोरीको पालनपोषण गरिरहेको बताउँछन् । काम त पाइएको छैन नै । उनको परिवारले सरकारले दिदै आएको विपन्न भत्ता समेत पाएको छैन । भन्छन्, ‘भत्ता पनि चार–चार महिनामा दिने गरिएको छ । एक पटक सात महिनापछि पाइयो । अब पुष–माघतिर पाइन्छ भन्दैछन् । दशैंमा भत्ता पनि नआउने भयो ।’