इमरान खानको पार्टीले विदेशबाट अवैध चन्दा लिएको निर्वाचन आयोगको ठहर

महेन्द्रनगर । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले विदेशबाट अवैध चन्दा लिएको ठहर गरेको छ। 

मंगलबार आयोगले पूर्व प्रधानमन्त्री खानको पाकिस्तान तहरीक-इ-इन्साफ (पिटिआई) ले विदेशबाट अवैध रकम लिएको ठहर गरेको हो। योसँगै खान र पिटिआईलाई राजनीतिमै प्रतिबन्ध लाग्न सक्ने रोयटर्सले जनाएको छ। 

पाकिस्तानमा कुनै पनि पार्टीले विदेशबाट चन्दा लिनु गैरकानुनी हो। रोयटर्सले यसबारेमा खानसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा नआएको जनाएको छ। 

पिटिआईका प्रवक्ता फवाद चौधरीले भने यो आरोप गलत भएको बताए। 

‘हामी आयोगको यो निर्णयलाई चुनौती दिन्छौ,’ चौधरीले आयोगबाट बाहिर निस्किँदा पत्रकारहरूसँग भनेका छन्। उनले आफूहरूले पाएको अनुदान विदेशमा रहेका पाकिस्तानीहरूबाट पाएको र त्यो अवैध नभएको दाबी गरेका छन्।

पिटिआईले ३४ विदेशी वा विदेशी कम्पनीहरूबाट चन्दा लिएको आयोगले जनाएको छ। आयोगले यसबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। 

पार्टीले आफ्नो बैंक विवरणबारे पनि नक्कली कागजात पेस गरेको र १३ वटा बैंक खाता लुकाएको समेत समितिले दाबी गरेको छ। आयोगले अनुदान किन जफत नगर्ने भन्दै पार्टीसँग स्पष्टीकरण सोधेको छ।

इमरान खान सन् २०१८ देखि २०२२ अप्रिलसम्म पाकिस्तानका प्रधानमन्त्री थिए।

संसदमा विश्वासको मत नपाएपछि उनले राजीनामा दिएका थिए। उनले त्यति बेला आफूलाई अमेरिकाले हटाउन चाहेको आरोप लगाएका थिए। अमेरिकाले भने यो आरोप अस्वीकार गरेको छ।

त्यसयता इमरान खान आफ्ना समर्थकहरूसँग निर्वाचनको माग गर्दै आएका छन्। तर हालका प्रधानमन्त्री शेहबाज शरिफ यो मागको सम्बोधन गर्ने पक्षमा छैनन्।

ताजा समाचार