निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी सुरू

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ। बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो।

निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरुहरुलाई सम्बन्धित मतदानकेन्द्रमा खटाइएको छ।

जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडा राखिने थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको थियो। मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसके अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ।

जिल्ला निर्वाचन अधिकारी फुँयालले भने, ‘टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ४० जनालाई आज मतपत्र र निर्वाचनसामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ। मङ्सिर १ गते साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्छ।’

बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिएको छ। निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाइएको छ। बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र रहेका छन्।

यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ।प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन्। यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। प्रदेशसभाका दुई सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा छन्।

ताजा समाचार