डडेल्धुराबाट सातौँ पटक चुनाव जितेका देउवाको नाममा नयाँ ‘रेकर्ड’ कायम

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमा जितको नयाँ रेकर्ड बनाएका छन्। एकै निर्वाचन क्षेत्रबाट लगातार सातौं पटक प्रतिनिधि सभा चुनाव जित्ने रेकर्ड देउवाका नाममा बनेको हो ।

लगातार ६ पटक चुनाव जितेर सातौं पटक चुनावमा होमिएका कांग्रेसकै नेता विजयकुमार गच्छदार भने सुनसरी९३ मा पराजित भए । देउवाले भने गृह जिल्ला डडेल्धुराबाट २०४८ सालदेखि भएका सबै चुनावमा जित्दै आएका छन् ।

७७ वर्षका देउवा यसपालि २५ हजार पाँच सय ३४ मतसहित डडेल्धुराबाट निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मतसहित पराजित भएका थिए । देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका चुनावमा गरी लगातार सातौं पटक चुनाव जितेका हुन्। यसबीचमा देउवा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भए ।

पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए । त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने । त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । अब नयाँ बन्ने सरकारमा पनि देउवा नै प्रधानमन्त्री भएमा उनी छैटौं पटक प्रधानमन्त्री हुनेछन् । देउवा २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।देउवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका हुन् ।

२००३ सालमा डडेल्धुरामा जन्मिएका देउवा २०२२ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०२७ सालपछि उनी नेविसंघको सभापति बने। उनी लगातार करिब १० वर्ष नेविसंघ सभापति भएका थिए । देउवा करिब ९ वर्ष जेल परेका छन् । पञ्चायत विरोधी आन्दोलनका बेला र ज्ञानेन्द्र शाह राजा भएका बेला देउवा जेलमा परेका थिए । २०४६ सालदेखि भने देउवाले कांग्रेसको सुदूरपश्चिम क्षेत्रको कमाण्ड समाल्दै पार्टी राजनीतिलाई अघि बढाएका थिए ।

ताजा समाचार