नवनिर्वाचित सांसद लेखक शपथ नखादैँ जनसरोकारका काममा उत्रिए ,महाकाली अस्पतालको स्थलगत अनुगमन

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य,पूर्वमन्त्री एवम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद रमेश लेखक जनसरोकारका काममा फिल्डमा उत्रिएका छन् ।

विजयी भएको साता नवित्दै उनले जिल्लाको महाकाली प्रादेशिक अस्पतालको अवस्थाको स्थलगत अनुगमन गरि थप स्तरोन्नती गर्ने विषयमा अस्पतालका पदाधिकारीसंग छलफल गरेका छन् ।

विहिवार अस्पताल अनुगमनका क्रममा उनले ‘महाकाली अस्पतालको स्तरोन्नति नै आफ्नोे एजेन्डा रहेकाले कार्यकालभर निरन्तर अस्पतालको विकासमा लाग्ने’ प्रतिबद्धता जनाए ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेड डा. अर्जुन भट्ट,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त भट्ट लगाएतका पदाधिकारीहरुले सांसद लेखकलाई अस्पतालमा सिटि स्क्यान, एमआरआई मेसिन, आवश्यक दरबन्दी पूर्ती नहुदाँ तथा बेड अभाव लगाएतका समस्याले विरामीहरुलाई रेफर गर्नु पर्ने अवस्था रहेको जानकारी गराए ।

अस्पतालका पदाधिकारीहरुले अस्पतालको समस्याबारे जानकारी गराएपछि सांसद लेखकले बैठकबाटै स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई फोन गरि सिटि स्क्यान,एमआरआइ मेसिन माग गरे र सचिव पोखरेलले सकारात्मक जवाफ दिए ।

‘मैले भरखरै स्वास्थ्य मन्त्रालयका सचिवसंग यो अस्पतालमा सिटि स्क्यान,एमआरआई मेसिन माग गरे ।’ बैठकमा उनले भने ‘केही समयपछि अस्पतालमा सिटि स्क्यान सेवा संञ्चालन हुन्छ ।’ यस्तै उनले अस्पतालको समग्र विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट निरन्तर काम गर्नुपर्ने बताए ।

ताजा समाचार